— राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधिसभा हलका साथै मल्टीपर्पोज हलको प्रगतिबारे जानकारी लिएका छन् ।
निर्माणाधीन भवनमा प्रतिनिधिसभा सदस्य बैठक बस्ने कक्ष तयार नहुँदा मल्टी पर्पोज हललाई तयार गर्न लागिएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगति बारेमा समेत जानकारी लिए ।
सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण भइसक्ने छ । साथै, भवन परिसरको सरसफाइ भइसक्ने उनीहरूले बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन भने अझै १-२ महिना लाग्ने उनीहरूको भनाइ छ ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र त्यसपछि प्रतिनिधिसभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए । बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने अध्यक्ष दाहालको भनाइ छ । उनले रातदिन काम गरेर भए पनि सक्न आग्रह गरे ।