— प्रादेशिक अस्पताल जलेश्वरको सेवा सुधार गर्न स्थानीय युवाहरुले माग गरेका छन् । उनीहरुले बिरामीको उपचार हुने अस्पताल व्यवस्थापन समितिका पदाधिकारीकै कारण आफै समस्यामा परेकाे आराेप समेत लगाएका छन्।
मधेश प्रदेश सरकारले मनोमानी तरिकाले पुरानै नेतृत्वलाई फेरि जिम्मेवारी दिन खोजेपछि युवाहरूले आपत्ति जनाउँदै अस्पताल सुधारकालागि जलेश्वर प्रादेशिक अस्पतालका निमित प्रमुख डा.रवि श्रीवास्तवललाई शुक्रबार ज्ञापनपत्र बुझाएकाे हाे ।
राजनीतिक खिचातानी, स्वार्थ समूहको प्रभाव र प्रशासनिक कमजोरीले अस्पतालको सेवा प्रवाहमा गम्भीर असर परेको र पुरानै अध्यक्ष मिनु झालाई पुनः नियुक्त गर्ने तयारी गरिएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका स्थानीय नविन झाले बताए । अस्पतालको सेवा दिनप्रतिदिन कमजोर हुँदै गएको र सुधारको सट्टा राजनीतिक हस्तक्षेप बढिरहेको झाले बताए।
अस्पताल व्यवस्थापनमा पारदर्शिता र दक्ष नेतृत्व आवश्यक रहेको बेला पुरानै व्यक्तिलाई पुनः नियुक्त गर्ने प्रयासले स्वास्थ्य सेवा थप प्रभावित हुने खतरा रहेकोले सजग गराउन ज्ञापन पत्र बुझाएकाे युवा चन्दन तिवारीले बताए ।
जलेश्वर प्रादेशिक अस्पतालमा अत्याधुनिक उपकरण र ठूला भवन भए पनि जनशक्ति अभाव, उपकरण मर्मत हुन नसकेकाे र सरकारी उदासिनताका कारण सेवा दिनदिनै कमजोर बन्दै गएको र डायलासिस, आईसीयू जस्ता उपकरण प्रयोगमा नआउँदा बिरामी उपचार नपाएर फर्किन बाध्य भएकाेले अस्पताल सुधार्न सक्ने व्यवस्थापन समितिकाे नेतृत्व पाउनुपर्ने युवाहरुले माग गरेका छन् ।
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारबाट नियुक्त हुने व्यवस्था छ । अस्पताललाई राजनीतिक प्रभावबाट मुक्त गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने स्थानीय युवाहरुले माग गरेका छन् ।