— बिहीबार साँझपख केही समयको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा शुक्रबार सयौं यात्रुले झण्डै ८ घण्टा सडकमा सास्ती खेप्न बाध्य भए ।
पाँचथर सदरमुकाम फिदिमदेखि नागिन, याङनाम, सिदिन र प्राङवुङ हुँदै नेपाल–भारत सीमावर्ती फालौट र सन्दकपुरसम्म जोड्ने फिदिम–फालौट सडक खण्डमा पर्ने फेमे खोलाको डाइभर्सन बग्दा यात्रुसँगै सवारी र ढुवानीका साधन खोला बगरमै अलपत्र परेका हुन् । यहाँको पक्की पुल २०८१ असोज १२ को बाढीले बगाएपछि डाइभर्सनका भरमा सवारी र ढुवानीका साधन वारपार भइरहेका छन् ।
डाइभर्सन नजिकै बेलिब्रिज निर्माण थालिए पनि पूरा भएको छैन । बेलिब्रिज आसपास सडकको पहुँच बन्न बाँकी नै छ । बिहीबार साँझ फिदिम नगरपालिका–१२ र १३ लगायतका स्थानमा करिब एक घण्टा हावाहुरीसहित पानी परेको थियो । त्यहीँ पानीका कारण फेमे खोलामा आएको बाढीले डाइभर्सन बगाइदिएको हो ।
डाइभर्सन बगेर सडक अवरुद्व हुँदा विरामी, गर्भवती, सुत्केरी र अशक्तसँगै जेष्ठ नागरिक शुक्रबार बिहानभर खोला बगरमा अलपत्र परे भने केही कठिनाइ सहेरै पैदल गन्तव्यतर्फ प्रस्थान गरे । रातदेखि अवरुद्व भएको फेमे खोलामा डाइभर्सन मर्मत पश्चात शुक्रबार मध्यान्हपछि सडक सुचारु भयो ।
पूर्वाधार विकास कार्यालय पाँचथरले एक्स्काभेटर लगाएर अवरुद्व सडक खुलाएको थियो । यो ठाउँमा गत वर्षको वर्षायाममा समेत पटक–पटक बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो ।
बाढीले बगाएको डाइभर्सन तीन वर्षसम्म नबन्दा यहाँ यात्रुले हिउँदमै पनि सास्ती व्यहोर्नु परेको छ । अलपत्र पुलपुलेसा चाँडै निर्माण सकेर यात्रा सहज बनाउन सर्वसाधारणले आग्रह गर्दै आएका छन् ।
फेमे खोला क्षेत्रमा बाढी आएपछि क्षतिग्रस्त डाइभर्सनको अवलोकन गर्न पुगेका नवनिर्वाचित संघीय सांसद नरेन्द्रकुमार केरुङ समक्ष स्थानीयले जिल्लामा निर्माण सुरु भएर अधुरा रहेका योजना सम्मन्न गर्न प्राथमिकता दिन सुझाए ।