: सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना शाखा नहरको डिलबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार सो क्षेत्रमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआईटीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको छ।
प्रहरीले चेकजाँच गर्ने क्रममा गढी गाउँपालिका–३ बस्ने ५४ वर्षीय पवनलाल थारु र इटहरी उपमहानगरपालिका –११ बस्ने ३३ वर्षीय महमद अवजललाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले बताए। उनले पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ हजार क्याप्सुल र स्पास्पेन ६ हजार ४ सय ट्याब्लेट बरामद गरिएको बताए ।
पक्राउ परेका दुवै जनालाई को ५ प ८०९७ र को ११ प २९०१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिए।