: फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न भएको जानकारी दिएको छ।
अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जितेको छ। दुई तिहाइबाट रास्वपा दुई सिटले चुकेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको हो।
त्यस्तै नेपाली कांग्रेसले ३८ सिट जित्दै दोस्रो स्थानमा रहेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको हो। त्यस्तै तेस्रोमा रहेको एमालेले कूल २५ सिट जितेको छ। उसले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट जितेको हो।
त्यस्तै चौथोमा रहेको नेपाली कम्युनिस्ट पार्टीले १७ सिट जितेको छ। उसले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ। पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरेर ७ सिट जितेको छ। छैटौं दलको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ। उसले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ सिट जितेको छ। त्यस्तै एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत मत सदर भएको थियो भने समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको थियो। प्रत्यक्षतर्फ कूल १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो भने समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो।