: चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा डिभिजन वन कार्यालयले भत्काएको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ का कारण सरकारी कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर छाप्रा निर्माण गरी वन अतिक्रमण गरेकोमा कार्यालयले आफ्नो वन क्षेत्रको जमिन खाली गराउन घर, टहरा हटाउने अभियान थालेको प्रमुख हेमन्त साहले जानकारी दिए।
प्रमुख साहका अनुसार डिभिजन वन कार्यालय रौतहटको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रंगपुर साझेदारी वन उपभोक्ता समूहका कर्मचारीहरूको संयुक्त टोलीले वन क्षेत्रमा निर्माण गरिएका ६ वटा अवैध घर, छाप्रा भत्काएर अतिक्रमण हटाइएको हो।
वन कार्यालयका अनुसार वन संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो। सो क्षेत्रमा यसअघि पनि राजनीतिक आवरणमा वन अतिक्रमण गरी घर निर्माण भइरहेको थियो। वन अतिक्रमण गरेर बनाइएका केही घरमा बसोबास समेत भइरहेको छ भने केहीले वन क्षेत्र ओगटेको मात्र देखिएको जनाइएको वन प्रमुख साहले जानकारी दिए।
सम्बन्धित निकायले वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई बारम्बार आग्रह गर्दै आएको भए पनि चन्द्रपुरका गैडाटार, जुडिबेला, बागमती, पौराई र गुजरा, बृन्दावन नगरपालिकाका विभिन्न क्षेत्रमा अतिक्रमण बढ्दो छ। जिल्लामा कुल २९ हजार ४ सय ३६.३३० हेक्टर राष्ट्रिय वन क्षेत्र छ।
यसमा पछिल्लो समय ३ हजार १ सय ९० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ। चुरे र भावर क्षेत्रमा वन फडानी गरेर घर, टहरा निर्माण गर्ने देखि अवैध नदी उत्खनन तीव्र छ। पछिल्ला केही वर्ष यता करिब ३ सय ४२ हेक्टर वन नयाँ अतिक्रमणको चपेटामा परेको छ।