— बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने प्रवृति नियन्त्रण गर्न स्याङ्जाका विभिन्न व्यापारिक केन्द्रमा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जिल्लाका प्रमुख बजार क्षेत्रमा रहेका ग्यास डिलर तथा पसलको अवस्थाबारे निरीक्षण गरिएको हो ।
हाल बजारमा ग्यासको आपूर्ति, मौज्दात, बिक्री प्रक्रिया तथा मूल्य सूचीबारे जानकारी लिँदै उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
पुतलीबजार, राङ्खोला, वालिङ, गल्याङ लगायतका मुख्य बजारमा विशेष निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सुवेदीको नेतृत्वमा खटिएको एकीकृत टोलीले ग्याँस वितरणको अवस्था, मौज्दात र मूल्यका विषयमा स्थलगत जाँच गरेको थियो ।
अनुगमनका क्रममा ग्यासको कृतिम अभाव सिर्जना गर्ने, निर्धारित मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्ने तथा मौज्दात लुकाएर राख्ने जस्ता गतिविधि पाइए कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
अनुगमनका क्रममा टोलीले ग्यास सिलिन्डरको परिमाण, तोकिएको तौल भए नभएको र बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गरिएकोबारे अध्ययन गरेको थियो । सो क्रममा नियमविपरीत कारोबार गर्ने र प्रक्रिया नपुर्याएका केही ग्यास डिलरलाई व्यापारिक आचारसंहिता पालना गर्न निर्देशन दिँदै सचेत गराइएको सुवेदीले जानकारी दिए ।
प्रशासनका अनुसार उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले खाना पकाउने ग्याँसको सहज आपूर्ति सुनिश्चित गर्न अनुगमनलाई अझ प्रभावकारी बनाइनेछ । साथै उपभोक्ताले पनि कालोबजारी वा अनियमितता देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
अनुगमनपछि सुवेदीले जिल्लामा खाना पकाउने ग्यासको कुनै पनि अभाव नरहेको र अनावश्यक रूपमा स्टक राखेर अभाव देखाउन खोज्नेलाई कडा कारबाही गरिने बताए । उपभोक्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राखि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा महँगोमा बेच्ने जस्ता गैरकानुनी कार्य रोक्न प्रशासनले नियमित रूपमा अनुगमन जारी राख्ने उनको भनाई छ ।