— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ ।
पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो ।
बर्दिया–१ मा १८ र बार्दिया–२ मा ११ जना उम्मेदवारको जमानत जफत भएको हो । बर्दिया–१ मा जम्मा १ लाख २ हजार ४८९ मत खसेको थियो । जसमा ९६ हजार ६०९ मत सदर भएको थियो । यो निर्वाचन क्षेत्रमा २१ जना उम्मेदवार थिए । जसमा रास्वपा, एमाले र कांग्रेसका उम्मेदवारबाहेक अन्यको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बर्दिया–१ का ५ उम्मेदवारले सय मत पनि ल्याउन नसकेनन् ।
बर्दिया–२ मा जम्मा ९२ हजार ६१८ मत खसेको थियो । जसमा ८८ हजार १३० मत सदर भएको थियो । यस क्षेत्रबाट १५ जनाले उम्मेदवारी दिएकामा रास्वपा, कांग्रेस, नेकपा र एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको छ । बर्दिया–२ का ४ उम्मेदवारले सय मत पनि ल्याउन सकेनन् ।