— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा तोकिएको न्यूनतम १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि विभिन्न दल तथा स्वतन्त्रत गरी ६ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्याम राईले बताए ।
धरौटी जफत हुने उम्मेदवारमा स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसी, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट, मितेरी पार्टी नेपालकी जुनु भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडी छन्। उनीहरूले क्रमशः ५४, ११, २, ९२, २१ र १ सय ८१ मत प्राप्त गरेका थिए ।