— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम एसियामा बस्ने नेपालीहरुलाई पनि यो सन्देश प्रवाह होस् ।’
उनले पश्चिमा मुलुकले विशेष कारणवस मात्रै आफ्ना नागरिकलाई उद्धार गर्ने भएको तर श्रमिक पठाउने देशबाट कुनै उद्धार नभएको बताए । ‘हामी जस्तो श्रमिक पठाउने बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकाजस्ता देशबाट उद्धार गरिसकेको छैन,’ उनले भने,‘उद्धार नै गर्नुपर्ने अवस्था आएमा सरकार सक्षम छ । नेपाल सरकारले जुनसुकै हालतमा पनि गर्नै पर्छ । त्यसको लागि सरकारले आफ्नो सक्षमता परेको बेला देखाउँछ ।’