— इलामका दुईवटै निर्वाचन क्षेत्रमा समानुपातिक मततर्फ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सर्वाधिक मत प्राप्त गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट कांग्रेस र २ बाट एमाले उम्मेदवार विजयी भएका थिए ।
हालै सम्पन्न समानुपातिक मतगणनाको अन्तिम परिणामअनुसार इलाम–१ मा श्रम संस्कृति पार्टीले १६ हजार ५ सय ५० मत ल्याएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी १३ हजार ६ सय ९६ मतसहित दोस्रो बन्दा कांग्रेसले १० हजार ८ सय १६ मत मात्रै प्राप्त गरेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दा श्रम संस्कृतिका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ३२ मत पाएका थिए ।
प्रत्यक्षमा दोस्रो बनेको श्रम संस्कृति पहिलो स्थानमा उक्लिँदा समानुपातिकमा भने कांग्रेस तेस्रो स्थानमा झरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ १३ हजार ६ सय ९६ मत सहित दोस्रो र नेपाली कांग्रेस १० हजार ८ सय १६ मतसहित तेस्रो भए । यहाँ नेकपा एमालेले १० हजार ३ सय ८२, नेपाली कम्युनिस्ट पार्टीले ४ हजार ५ सय ८३ मत ल्याएको छ ।
यस्तै, इलाम– २ मा पनि श्रम संस्कृति पार्टी समानुपातिक मतमा पहिलो भएको छ । यस क्षेत्रमा श्रम संस्कृतिले १७ हजार ४ सय ८२ मत पाएको छ । यहाँ प्रत्यक्षमा आफ्ना उम्मेदवार जिताएको एमाले १६ हजार ४ सय ६२ मतसहित दोस्रो स्थानमा छ भने रास्वपा १३ हजार ३ सय ४१ मतसहित तेस्रो स्थानमा रहेको छ । कांग्रेसले ११ हजार ९ सय १९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले १ हजार २ सय ५० मत पाएको छ ।