— वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विक गत शनिबार बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन् । उनी उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन् । शनिबार भएकाले आमा तिला र उनी आफ्नो गाउँ गुर्भाकोट जाने योजना अघिल्लो दिन नै बनेको थियो ।
तर इनिसाले १–२ घण्टामै फर्किहाल्छु, त्यसपछि गाउँ जाने भनेपछि आमा तिलाले छिटो आउनु भन्दै पठाएकी थिइन् । तर छोरी फर्किइनन् । ‘ढिलोमा ८ बजेसम्म फर्किहाल्छु भनेकी छोरी ९ बजेसम्म नआएपछि मैले फोन गरें, तर मोबाइल अफ थियो,’ भक्कानिँदै आमा तिलाले भनिन्, ‘त्यसपछि शिक्षकको मोबाइलमा पनि फोन गरें, तर अफ थियो ।’
त्यसको करिब १० मिनेटपछि आमा तिलालाई नचिनेको नम्बरबाट फोन आयो, इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भनेर । हतार–हतार सहिद पार्क पुग्दा इनिसाको शरीर नग्न, रक्ताम्मे र बेहोस अवस्थामा थियो । उनी पुग्दा प्रहरी पनि घटनास्थल पुगिसकेको थियो । ‘शरीर पूरै रक्ताम्मे थियो, कपाल लुछिएको थियो, वरिपरि घाँस मडारिएको थियो,’ उनले भनिन्, ‘नग्न भएकाले शरीर कालो ज्याकेटले छोपिएको थियो, त्यो हेर्न नसकी म त्यहीं बेहोस भएछु ।’
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
इनिसालाई प्रहरी र स्थानीयले हतार–हतार झन्डै १० मिनेट दूरीको प्रदेश अस्पताल पुर्याए । तर उपचार सुरु नहुँदै डाक्टरले मृत घोषणा गरे । उनको शव प्रदेश अस्पतालमा राखिएको छ । पोस्टमार्टम भइसकेको छ । परिवारले दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएको छ । ‘सामूहिक बलात्कारपछि हत्या गरियो, न्याय नपाए शव बुझ्दैनौं,’ आमा तिलाले भनिन् ।
पोस्टमार्टमको विस्तृत रिपोर्टका लागि भेरी अस्पताल नेपालगन्जबाट विशेषज्ञ डाक्टरको टोली बोलाइएको प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले बताए । ‘सबै कोणबाट पोस्टमार्टम रिपोर्टको विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘१–२ दिनमा विस्तृत रिपोर्ट सम्बन्धित निकायमा पठाउँछौं । प्रहरीले पनि ‘फरेन्सिक रिपोर्ट’का लागि नमुना विधिविज्ञान प्रयोगशालामा पठाएको जनाएको छ ।
दुवै रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए । उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखिन्छ । पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरिन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले बताए ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
‘अत्यन्तै हिंसात्मक शैलीले सम्पर्क गरेको देखिन्छ, सामूहिक बलात्कार हो/होइन भन्ने तथ्य खुलिसकेको छैन,’ उनले भने, ‘अन्य रिपोर्ट पनि आउन बाँकी छ ।’ डीएसपी बुढथापाका अनुसार त्यस दिन बिहान प्रहरीलाई ९ः१५ बजेतिर खबर गरिएको थियो ।
The body of a 16-year-old girl has been at Karnali Provincial Hospital for 5 days.
‘घटनास्थल पुग्दा शरीरको तल्लो भागमा चोटपटक देखिएको थियो, रगत बगेको थियो,’ उनले भने, ‘ढाडतिरको भाग कोतरिएको थियो ।’ अनुसन्धानका लागि एक जनालाई घटनास्थलबाटै र आइतबार थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीनै जना नाबालक (१८ वर्षमुनिका) हुन् ।
मृतक किशोरीका बुबा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन् । उनीहरूको वीरेन्द्रनगर–१ मा पनि घर छ । इनिसासहित उनका भाइलाई पढाउन आमा तिला पाँच वर्षदेखि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । बुबा इन्द्रबहादुर घटनापछि नेपाल आउन खोजे पनि दुबई एयरपोर्ट बन्द भएकाले फर्कन नसकेको छिमेकी प्रेमबहादुर विकले बताए ।
ads/1440x233px-dew-aston-0432026041034.png
परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी उजुरी दिएको डीएसपी बुढथापाले बताए । प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोरले बयानका क्रममा किशोरीसँग शारीरिक सम्पर्क गर्दा अत्यधिक रक्तस्राव भएको बयान दिएका छन् ।
‘रक्तस्राव भएपछि उनी बेहोस भइन्, त्यसपछि मैले अरू तीन साथीलाई उद्धारका लागि बोलाएको हुँ,’ बयानमा उनले भनेका छन्, ‘उनीसँग दुई वर्षदेखि प्रेमसम्बन्ध थियो, बेलाबेलामा भेटघाट गरिरहन्थ्यौं ।’ किशोरले अन्य तीन युवकलाई ८ः२५ बजे फोन गरेको ‘कल डिटेल्स’मा देखिएको प्रहरीको भनाइ छ । घटनास्थल भैरव सामुदायिक वनभित्र सहिद पार्क निर्माण गरिएको छ । जहाँ दैनिक दुई सय जना आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।
बिहान ‘मर्निङ वाक’ गर्नेदेखि घाँसपात गर्नेहरूका कारण वनमा दैनिकजसो चहलपहल हुन्छ । भैरव सामुदायिक वनभित्र करिब चार महिनाअघि एक जोडी झुन्डिएको अवस्थामा फेला परेका थिए । कहिलेकाहीं युवाबीच झडपसमेत हुने गरेको स्थानीय कलबहादुर गुरुङले बताए । उनका अनुसार झैझगडा हुन थालेपछि सहिद पार्कमा प्रहरी हवल्दारको नेतृत्वमा ६ जवानसहित अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।
ads/hardik-niskula-opd1440270-23220261237511-0432026041502.jpg
तर पछिल्लो घटनाको पाँच दिनसम्म पनि वास्तविकता सार्वजनिक नभएको भन्दै पीडित परिवार र विभिन्न संघसंस्था आन्दोलित बनेका छन् । पीडितहरूले बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक गर्न र अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आमा तिलालगायतको टोलीले ज्ञापनपत्र बुझाएको छ ।
‘दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्छ, प्रहरीले उनीहरूलाई उन्मुक्ति दिने प्रयास नगरोस्, दोषीमाथि कारबाहीको ग्यारेन्टी नहुँदासम्म शव बुझ्दैनौं,’ मृतकका काका नाता पर्ने अनन्त विकले भने । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि पीडित परिवार भेट्न पुगेका थिए । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने बताए । पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार स्पष्ट रहेको उनको भनाइ छ ।
जिल्लाका अधिकारवादी संघसंस्थाले घटनाको विरोध गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षणपत्र पेस गरेका छन् । ‘अत्यन्त दुःखद, अमानवीय र निन्दनीय घटना भयो, निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ,’ मानवअधिकारवादी संस्था इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले भने, ‘प्रशासनले पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्छ, महिला तथा बालिकामाथि हुने यौनहिंसा र अपराधका घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमलाई अझ सुदृढ बनाउन जरुरी छ ।’
ads/laxmi-sunrise-6811-08220261134141-0432026041702.jpg
राजधानी काठमाडौंको माइतीघरमा पनि बुधबार दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न संघसंस्थाले प्रदर्शन गरेका छन् ।