: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो ।
किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले भनिन्, ‘हस्पिस भन्ने बित्तिकै ओछ्यानमा मृत्युको प्रतीक्षा गरिरहेका बिरामीहरूको तस्वीर दिमागमा आउँछ । त्यस्तो सोचबाट बाहिर निस्कन निकै गाह्रो भयो ।’ तर, उनले अनुभव गरेको वास्तविकता उनको धारणा जस्तो बिल्कुलै थिएन । अहिले ५९ वर्षकी ग्रिफिथ्स अन्य क्यान्सर सर्वाइभरहरूसँग मिलेर हस्पिस सेवाको अनुभव साझा गर्दै अभियानमा सहभागी भएकी छन् ।
वारविकशायरको केनिलवर्थकी एनएचएस कर्मचारी ग्रिफिथ्सलाई पहिलो पटक ४४ वर्षको उमेरमा स्तन क्यान्सर भएको पत्ता लागेको थियो । उपचारपछि उनी क्यान्सर निको भएको खबर सुन्ने अपेक्षासहित जाँचका लागि गएकी थिइन्, तर त्यहाँ उनले खराब खबर पाइन् । उनको अर्को स्तनमा स्टेज–२ को क्यान्सर भेटियो । त्यसपछि उनलाई स्ट्र्याटफोर्ड–अपन–एभन नजिकै रहेको शेक्सपियर हस्पिस मा उपचारका लागि पठाइयो ।
त्यो समय सबै कुरा धुम्म जस्तो लागिरहेको थियो र उनी निकै चिन्तित अवस्थामा थिइन् । उनलाई आराम र सहयोगका लागि त्यहाँ पठाइएको भनिए पनि आफू जीवनको अन्तिम चरणमा पुगेको कारण त्यहाँ पठाइएको हो कि भन्ने डर लागेको उनले बताइन् । उनले भनिन्, ‘त्यहाँ गएपछि कस्तो होला र के देख्नुपर्ने होला भनेर सोचिरहेकी थिएँ ।’
त्यहीं उनले ५२ वर्षीया डेबोरा पूलसँग गहिरो मित्रता बनाइन्, जो त्यही हस्पिसमा स्तन क्यान्सरको उपचार गरिरहेकी थिइन् । पूलले भनिन्, ‘सामान्य अवस्थामा सायद हाम्रो भेट नै हुँदैनथ्यो । तर यहाँ हामीबीच गहिरो सम्बन्ध बन्यो ।’
उनले थपिन्, ‘तपाईं अत्यन्तै व्यक्तिगत विषयबारे कुरा गरिरहनु हुन्छ । उपचारका साइड इफेक्ट र लक्षणबारे कुरा हुन्छ, जुन सायद तपाईं आफ्ना श्रीमान्, बच्चा वा आमाबुबासँग पनि भन्न चाहनु हुन्न ।’ ‘हामी सबैले त्यस्तै कुरा भोगिरहेका थियौं । हामी कला कक्षाको टेबल वरिपरि बसेर ‘हिजो मलाई के भयो थाहा छ ?’ भन्दै सहज रूपमा कुरा गथ्र्यौं । त्यस्तो वातावरणमा खुलेर कुरा गर्न पाउँदा निकै सहज लाग्थ्यो ।’
यी दुई साथी अहिले उक्त संस्थाको लेगेसी अभियानको भिडियोमा पनि देखिएका छन् । उनीहरू भन्छन्–हस्पिसले दिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्न आफूहरूले ‘केही फर्काउन’ चाहेका हुन् । उनीहरूले मानिसहरूलाई आफ्नो वसीयतमा हस्पिसका लागि सहयोग (दान) छोड्नेबारे विचार गर्न आग्रह गरेका छन् ।
हस्पिसकी जो फक्नर–हार्भीले भनिन्, ‘यी महिलाहरूको कथा देखाउँछ कि हस्पिस सेवा भनेको मानिसलाई सकेसम्म राम्रोसँग बाँच्न सहयोग गर्ने सेवा हो ।’ ग्रिफिथ्स अहिले क्यान्सरमुक्त छिन् र हस्पिसमै स्वयंसेवकका रूपमा काम पनि गर्छिन् । उनले आफूले क्यान्सरलाई ‘जितें’ भन्ने भन्दा पनि जीवनको अर्को चरणमा अघि बढेको महसुस भएको बताइन् ।
उनले भनिन्, ‘हस्पिसले बिरामीलाई केवल उपचार मात्र होइन, त्यसभन्दा धेरै सेवा दिन सक्छ भन्ने कुरा मानिसहरूले बुझ्नु पर्छ ।’ उनका अनुसार समाजमा ‘हस्पिस’ भन्ने शब्दलाई मृत्यु नजिकको अवस्थासँग मात्र जोडेर बुझिन्छ । तर त्यहाँबाट पाएको सहयोगले कठिन उपचार र साइड इफेक्टको समय पार गर्न ठूलो मद्दत मिलेको थियो ।
‘मेरो लागि यो सन्देश फैलाउनु धेरै महत्वपूर्ण छ, किनकि यस्तो सेवा अत्यन्तै उपयोगी छ’, उनले भनिन् । फक्नर–हार्भीले भनिन्, ‘हामी बिरामीलाई लक्षण व्यवस्थापन गर्न, मानसिक रूपमा बलियो बन्न र अत्यन्त कठिन समयमा शक्ति पाउन सहयोग गर्छौं ।’ उनका अनुसार बेलायतभरका हस्पिसहरूका लागि लेगेसी (वसीयतमार्फत दिइने सहयोग) महत्वपूर्ण आय स्रोत हो । शेक्सपियर हस्पिसका लागि यस्ता सहयोगले विशेष नर्सिङ सेवा, मानसिक स्वास्थ्य तथा कल्याण सेवा, शोक–समर्थन सेवा र बिरामीको आफ्नै घरमा प्रदान गरिने हेरचाहको खर्च जुटाउन मद्दत गर्छ ।