: झापा दमकका केशव कार्कीको शिरमाथि ड्रोन उड्न थालेको १० दिनभन्दा बढी भइसकेको छ। २० वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमामा कार्यरत कार्की नेपाल फर्कने कि नफर्कने भन्नेमा द्विविधामा छन्।
दुबईमा कार्यरत नुवाकोटका श्याम पाठकको कमाइ पनि राम्रै छ। एक छोरालाई पढाएर श्रीमतीसहित दुबईमै बसिरहेका पाठकलाई अहिलेको युद्धले भने रनभुल्ल पारेको छ। ‘केही दिन हेर्नुपर्ला,’ युद्धले कस्तो रूप लिन्छ हेरेर मात्रै निर्णय लिने उनी बताउँछन्। ‘मोबाइलमा सायरन अलर्ट बज्छ,सुरक्षित स्थानमा जानु भनेर सन्देश आउँछ। केही छिनपछि ड्याङ–ड्याङ पड्किएको ठूलो आवाज आउँदा मनै थरथरी काँप्छ,’दुई छोराछोरीसहित अबुधाबीमा बसोबास गरिरहेकी अमृता सिग्देल भन्छिन्,‘तैपनि युद्धविराम हुन्छ कि भनेर आशामा बसिरहेका छौं।’
यूएईसहित मध्यपूर्वका अन्य मुलुकहरू कतार,साउदी अरब,कुवेत, बहराइन, लेबनान र ओमानमा अमेरिका,इजरायल र इरानबीच सुरु भएको युद्ध अझै तनावपूर्ण अवस्थामै जारी छ। इरानद्वारा गरिएका हवाई आक्रमण, मिसाइल प्रहार र ड्रोन हमलाका कारण यस क्षेत्रमा सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ। फेब्रुअरी २८ देखि सुरु भएको यो सैन्य द्वन्द्व बिस्तारै क्षेत्रीय स्तरमा फैलिँदै गएको छ। इरानले लगातार गरेका आक्रमणका कारण झन्डै २० लाख नेपाली मनोवैज्ञानिक रूपमा त्रसित अवस्थामा दिन काटिरहेका छन्। अधिकांश नेपालीहरू युद्ध रोकिन्छ कि भनेर ‘पर्ख र हेर’को अवस्थामा रहेका छन्।
कतारको दोहामा कार्यरत सुमन घिमिरेले अहिले नै नेपाल फर्कने निर्णय नगर्ने बताएका छन्। इरानले अमेरिकामाथि दबाब सिर्जना गर्न मात्र खाडीका अन्य मुलुकहरूमा आक्रमण गरेको र यो धेरै लामो नजाने उनको अनुमान छ। दोहाको सनैया क्याम्पमा बस्ने मानबहादुरले पनि तत्काल नेपाल नजाने बताएका छन्। दोहा आएको दुई वर्ष मात्रै भएको उनले आउँदाको ऋण अझै तिर्न नसकेकोले फर्कन नसक्ने बताएका छन्।
पछिल्लो अवस्थाअनुसार अमेरिका र इजरायलले इरानका सैन्य अड्डा,मिसाइल भण्डार,तेल संरचना तथा रणनीतिक केन्द्रहरूलाई लक्षित गरी हवाई आक्रमण जारी राखेका छन्। त्यसको प्रतिकारमा इरानले मिसाइल र ड्रोनमार्फत इजरायलका विभिन्न शहर तथा यस क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई निसाना बनाइरहेको छ। लेबनानबाट इरान समर्थित हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण थालेपछि युद्धको दायरा अझ फराकिलो भएको विश्लेषण गरिएको छ। इरानले भने खाडी मुलुकहरूमा आक्रमण नरोक्ने संकेत दिइसकेको छ।
युद्धका कारण मानवीय तथा भौतिक क्षति पनि तीव्र रूपमा बढिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म क्षेत्रभरि करिब १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको अनुमान गरिएको छ। इरानमा सबैभन्दा बढी क्षति भएको बताइएको छ,जहाँ १ हजार २ सयभन्दा बढी मानिस मारिएका छन्। इजरायल र लेबनानमा पनि सयौं मानिसको मृत्यु भएको छ।
यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको आक्रमण सुरु भएयता हालसम्म २५३ वटा ब्यालेस्टिक मिसाइल पत्ता लगाइएको छ। तीमध्ये २३३ वटा मिसाइल नष्ट गरिएको छ भने १८ वटा समुद्रमा खसेका छन्। दुईवटा मिसाइल भने देशभित्र खसेका छन्। त्यस्तै १ हजार ४ सय ४० वटा ड्रोन (मार्चिङ विमान) पत्ता लगाइएकोमा १ हजार ३ सय ५९ वटा ड्रोनलाई वायु रक्षा प्रणालीले अवरोध गरी खसालेको मन्त्रालयले जनाएको छ। ८१ वटा ड्रोन भने देशभित्र खसेका छन्। साथै ८ वटा मोबाइल मिसाइल पनि पत्ता लगाई नष्ट गरिएको बताइएको छ।
यी आक्रमणका कारण गोरखाका दिवस श्रेष्ठसहित पाकिस्तानी र बंगलादेशी नागरिक गरी ४ जना विदेशी नागरिकको मृत्यु भएको छ। प्रतिरक्षा प्रणालीले मिसाइल अवरोध गर्दा झरेका टुक्रा लागेर उनीहरूको मृत्यु भएको यूएई सरकारले जनाएको छ। त्यस्तै, विभिन्न राष्ट्रियताका ११७ जना सामान्य घाइते भएका छन्।
त्यस्तै, युद्धका कारण हजारौं मानिस घाइते भएका छन्। इजरायलमा मात्रै करिब १ हजार ९ सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। निरन्तर हवाई आक्रमण र मिसाइल प्रहारका कारण आवासीय क्षेत्र,विमानस्थल,सैन्य अड्डा तथा तेल भण्डारण केन्द्रहरूमा व्यापक क्षति पुगेको छ। केही स्थानमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध भएको बताइएको छ। युद्ध सुरु भएपछि केही नेपालीहरू स्वदेश फर्किन थालेका छन्। यूएई र कतारबाट चार्टर उडानमार्फत फर्किने नेपालीको संख्या क्रमशः बढिरहेको बताइएको छ।
यता झन्डै ५५ हजार नेपाली स्वदेश फर्कन इच्छुक रहेको दूतावास स्रोतहरूले बताएका छन्। विशेषगरी द्वन्द्व प्रभावित क्षेत्र नजिक रहेका नेपाली कामदारहरूले सुरक्षित स्थान वा नेपाल फर्कन इच्छा व्यक्त गरेका छन्। घुम्न गएका,ट्रान्जिटमा रहेका र व्यवसाय गरिरहेका केही नेपाली विशेष उडानमार्फत फर्किरहेका छन्।