: ग्रामीण भेगका विभिन्न गाउँमा पछिल्लो समय निलगाई (घोर गधा) र बाँदर आतंक बढ्दै गएको छ । दिनमा बाँदर र रातको समयमा निलगाईका झुण्डका झुण्डले खेतबारीमा पसेर गहुँ, मकै, केरा, सखरखण्ड, धनियासहित तरकारी बालीलाई खाएर नष्ट गर्न थालेपछि स्थानीय किसानहरू ठूलो समस्यामा परेका छन् ।
स्थानीय किसानहरु निलगाई र बाँदरको झुण्डका कारण आफूले लगाएको बाली जोगाउन प्रयासरत रहँदा यहाँका स्थानीय तहले भने कुनै वास्ता नगरेको चन्द्रपुर–७ का किसान प्रह्लाद उप्रेतीले बताए । जंगली जनावरको झुण्डले विशेषगरी रातको समयमा खेतमा पसेर एकै रातमा बाली सखाप पार्ने गरेको दुःखेसो जिल्लाका चन्द्रपुर, बृन्दावन, फतुवाबिजयपुर लगायतका किसानको छ ।
वर्षभरी मेहनत गरेर लगाइएको बाली नष्ट हुँदा किसानहरू चिन्तित त बनेकै छन्, ऋण काडेर गरिएको खेती नष्ट हुने डरले उनीहरु रातभर जाग्राम बस्नु पर्ने अवस्था रहेको छ । किसानहरूले बाली जोगाउन रातभर खेतमा बस्ने, आवाज निकाल्ने तथा विभिन्न उपाय अपनाउने प्रयास गरे पनि निलगाई, जंगली सुँगुँर (बँदेल) को झुण्ड नियन्त्रण गर्न कठिन भइरहेको उनीहरुले बताए ।
खास गरेर बागमती, लाल बकैया नदीको बगर छेउछाउका किसानहरु जंगली जनावरको आतंकबाट पीडित बन्दै आएको स्थानीय किसान रामलाल दासले बताए । यसैबीच पछिल्लो समय ग्रामीण सडकहरूमा पनि निलगाई देखिन थालेपछि सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।
विशेष गरी राति र बिहान सबेरै सवारी साधन चलाउँदा सावधानी अपनाउनु पर्ने अवस्था सिर्जना भएको बृन्दावनका किसान हरेन्द्र पटेल बताउँछन् । हुलाकी सडक, गौर पिपरा हुँदै समनपुरतर्फ जाने सडक, कटहरियासहितका ग्रामीण सडक र चन्द्रपुरमा सवारी साधन गुडाउनेहरु सावधान हुनुपर्ने अवस्था रहेको छ