: नेपाल एयरलाइन्सको चीनको ग्वाङझाउ उडान भरेको न्यारोबडी जहाज विवादमा तानिएको छ। छिमेकी मुलुक चीनको ग्वाङझाउबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडान भर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजले सुरक्षामा लापरबाही गरेको पाइएको छ।
गत माघ २३ गते चीनको ग्वाङझाउ विमानस्थलबाट उडानका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ट्याक्सी–वे (धावनमार्गको दायाँबायाँ उडानअघि जहाज गुड्ने मार्ग) मा गएको थियो।
क्याप्टेन उद्धव घिमिरे उडानका लागि तयार थिए। तर, उनले प्रयोग गर्नुपर्ने ट्याक्सी–वेभन्दा फरक अर्को ट्याक्सी–वे प्रयोग गर्दै धावनमार्ग (रनवे)तर्फ अघि बढेपछि त्यहाँको प्राधिकरणले गलत बाटो प्रयोग गरेको भन्दै मार्ग सच्याइदिएको थियो। ‘यात्रु हालिसकेपछि जहाज पार्किङस्थलबाट ट्याक्सी–वे हुँदै रनवेमा लैजाने क्रममा उक्त न्यारोबडीले सिभिल एभिएसन एड्मिनिस्ट्रेसन अफ चाइनाले तोकेको भन्दा फरक मार्ग प्रयोग गरेको हो। यसैकारण चिनियाँ प्राधिकरणले स्पष्टीकरण सोधेको छ,’ नेपाल एयरलाइन्स स्रोतले जानकारी दियो।
चिनियाँ प्राधिकरणले नेपाल एयरलाइन्सलाई पत्र पठाउँदै के भएको हो भनी सोधेको छ। ‘पाइलटलाई पनि के भएको हो भनेर सोध्नुका साथै भविष्यमा यस्तो गल्ती दोहोरिन नदिन कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा प्रश्न गरिएको छ,’ स्रोतले भन्यो।
निगमले पत्रको जवाफ पठाए पनि त्यसमा चिनियाँ प्राधिकरण सन्तुष्ट नभएको बताइएको छ। अझ गहन विश्लेषणसहित पुनः जवाफ पठाउन चिनियाँ पक्षले आग्रह गरेको स्रोतको भनाइ छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मंगलबार नेपाल एयरलाइन्सलाई के भएको हो भनी पत्र पठाएको छ। नेपाल एयरलाइन्सबाट सोमबार मात्र प्राधिकरणमा रिपोर्टिङ भएकोले मंगलबार जानकारी माग्दै पत्र पठाइएको प्राधिकरणका सूचना अधिकारीले बताए। सोमबार जानकारी पाएपछि प्राधिकरणको टोली नै गएर सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएकाले मंगलबार लिखित जवाफ मागिएको हो। उक्त जवाफ आएपछि मात्र सो दिनको घटना के भएको हो र के कदम चाल्ने भन्नेबारे निर्णय हुने प्राधिकरणको भनाइ छ।
नेपाल एयरलाइन्सले सातामा तीन दिन काठमाडौं–ग्वाङझाउ उडान गर्दै आएको छ। निगमको जहाज बुधबार, शुक्रबार र आइतबार उडान भर्दै आएको छ। यदि चित्तबुझ्दो जवाफ नदिए सुरक्षाको कारण देखाउँदै चिनियाँ प्राधिकरणले कारबाही गर्न सक्ने बताइएको छ।