— काठमाडौंमा १० दिनदेखि रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान आज राति १० बजे लण्डन उड्ने भएको छ । उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण नेपालमा रोकिएको उक्त विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ ।
संयुक्त राज्य अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त सैन्य हमला गरेपछि खाडी क्षेत्रका ९ मुलुकमा हवाइ सुरक्षा जोखिम बढेको छ । त्यसपछि कतारले आफ्नो आकाशमा गैरसैनिक उडानमा प्रतिबन्ध लगाएपछि कतार एयरवेजका दर्जनौं विमान विश्वका विभिन्न विमानस्थलमा रोकिएका थिए । नेपालमा पनि त्यही दिन कतारका २ वाइडबडी विमान र ५ सेट चालकदल काठमाडौंमै रोकिएका थिए ।
दोहास्थित कतार नागरिक उड्डयन प्राधिकरणले कतारी आकाशमा लगाएको प्रतिबन्ध अझै पनि पूर्ण रूपमा खुला नगरेपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको हो । इरानसहित खाडीका केही मुलुकबाट सम्भावित जवाफी हवाई तथा ड्रोन आक्रमणको जोखिम बढेपछि गैरसैनिक उडानको सुरक्षालाई ध्यानमा राख्दै खाडीका नागरिक उड्डयन कार्यालयहरूले प्रतिबन्ध कायमै राखिरहेका छन् ।
यसैबीच, कतार एयरवेजले काठमाडौंमा रहेको वाइडबडी विमानलाई साउदी अरेबियाको रियाद हुँदै लण्डन पठाउने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उक्त विमानका लागि नन–सेड्युल्ड प्यासेन्जर चार्टर उडानको अनुमति दिएको छ । यो विमानमा काठमाडौंमा रोकिएका ३११ यात्रु सवार हुनेछन् । कतार एयरवेजका अनुसार काठमाडौंबाट लण्डन पुग्न करिब १५ घण्टा १० मिनेट लाग्नेछ । तर, विमान रियादमा करिब २ घण्टा प्राविधिक अवतरण (टेक्निकल स्टप) गर्नेछ । त्यहाँ इन्धन भर्ने, चालक दल परिवर्तन गर्ने र यात्रुका लागि क्याटरिङ सेवा राखिनेछ ।
'यो उडानका लागि नयाँ टिकट बिक्री गरिएको छैन । काठमाडौंमै रोकिएका कतार एयरवेजका यात्रुलाई प्राथमिकता दिएको छ,' कम्पनी स्रोतले भन्यो । ती यात्रुमध्ये करिब ९० प्रतिशत बेलायती पासपोर्टवाहक रहेको स्रोतको भनाइ छ । लण्डन पुगेपछि उक्त विमान पुनः काठमाडौं फर्किने छैन । हाल कतार एयरवेजले दोहाबाट प्रभावित हवाइमार्गहरू छलेर सीमित संख्यामा मात्र उडान गरिरहेको छ । दोहाबाहिर रोकिएका आफ्ना विमानलाई भने दोस्रो गन्तव्यबाट तेस्रो गन्तव्यमा पठाउने रणनीति अपनाएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा रोकिएको अर्को कतार एयरवेजको विमानलाई पनि छिट्टै फर्काउने तयारी भइरहे तर मिति भने तय भएको कम्पनीका अर्का कर्मचारीले जानकारी दिए । कतार एयरवेजले आइतबार जारी गरेको सूचनाअनुसार कतारी आकाश बन्द भएकाले दोहा आउने जाने नियमित उडान अस्थायी रूपमा निलम्बित छ । कतारको आकाश पूर्ण रूपमा सुरक्षित भएको घोषणा कतार नागरिक उड्डयन प्राधिकरणले गरेपछि मात्र नियमित उडान पुनः सञ्चालन हुने कम्पनीकाे भनाइ छ । यद्यपि, प्राधिकरणबाट सीमित हवाइ मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्याउन कतार एयरवेजले सीमित उडान तालिका सञ्चालन गर्ने जनाएको छ ।
आइतबार दोहाबाट सियोल, मस्को, लण्डन (हिथ्रो), भारकाो दिल्ली, म्याड्रिड, इस्लामावाद, बेइजिङ, पर्थ, नैरोबी र इस्तानबुलतर्फ उडान सञ्चालन गरेको छ । त्यस्तै, मंगलबार दोहाबाट काइरो, लण्डन (हिथ्रो), जेद्दा, मनिला, मस्कट, इस्तानबुल, मुम्बई, दिल्ली, नैरोबी, इस्लामाबाद, म्याड्रिड, फ्रान्कफर्ट, कोलम्बो र मिलानलगायत गन्तव्यमा उडान सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । यसैगरी, ती गन्तव्यबाट दोहा आउने सीमित उडानहरू पनि क्रमशः मंगलबार र बुधबार सञ्चालन गरिने कतार एयरवेजले जनाएको छ ।