— तीन निर्वाचन क्षेत्र रहेको चितवनमा सबै क्षेत्रमा गरेर प्रत्यक्षतर्फ २ लाख ८२ हजार ६ सय ४३ मत खस्दा ९ हजार ८ सय ५४ मत बदर भएको छ । बदरमध्ये सबैभन्दा धेरै मत एक मतपत्रमा एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाएको भेटिएको चितवन जिल्ला निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।
प्रत्यक्षतर्फ संख्याका र प्रतिशतका हिसाबले सबैभन्दा धेरै चितवन–१ मा मत बदर भएको छ । चितवन–१ मा ३ हजार ६ सय ८३ मत बदर भएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको चितवन–१ मा ९५ हजार ५ सय ८२ मत खसेको थियो । चितवन–१ मा खसेको मध्ये ३ दशमलव ८५ प्रतिशत मत बदर भएको छ । चितवन–२ मा ८७ हजार २८ मत खस्दा २ हजार ७ सय ९६ मत बदर भएको छ ।
चितवन–२ मा १ लाख ३७ हजार १ सय ५२ मतदाता थिए । खसेको मध्ये चितवन–२ मा ३ दशमलव २१ प्रतिशत मत बदर भएको छ । चितवन–३ मा कुल मतदाता १ लाख ५५ हजार ३ सय ९ थिए । तीमध्ये प्रत्यक्षतर्फ १ लाख ३३ ले मतदान गरेका छन् । जसमा ३ हजार ३ सय ७५ मत बदर भएको छ । खसेको मध्ये ३ दशमलव ३७ प्रतिशत मत बदर भएको छ ।
त्यसै गरी समानुपातिकतर्फ पनि चितवनमा क्षेत्र नम्बर १ मा २ हजार ५ सय ९१, चितवन–२ मा १ हजार ९ सय ६१ र चितवन–३ मा २ हजार ३ सय ९३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए । बदर मतमध्ये चितवन–१ मा सबैभन्दा धेरै ३ हजार ३ सय ५० मत प्रत्यक्षतर्फको एकै मतपत्रमा एकभन्दा बढी चिह्नमा छाप लगाएको भेटिएको छ ।
चितवन–२ मा यसरी बदर भएको मतको संख्या २ हजार ४ सय ८१ र चितवन–३ मा ३ हजार १ सय ९७ मत एकै मतपत्रमा एकभन्दा बढी चिह्नमा छाप लगाएका कारण बदर भएको निर्वाचन अधिकारी कार्कीले जानकारी दिए । स्वस्तिक छापको सट्टा औंला या अन्य छाप लगाएर चितवन–१ मा २ सय १७, चितवन–१ मा १ सय ७३ र चितवन–३ मा ६० मत बदर भएको छ ।
खाली छाप भएको मतपत्र चितवन–१ मा नभए पनि चितवन–२ मा ७८ र चितवन–३ मा ५१ छ । दुईवटा चिह्नको बीचमा पर्ने गरी छाप लगाएको, स्वस्तिक छाप नबुझिएको जस्ता कारणले पनि मत बदर भएको छ । चितवन क्षेत्र नम्बर १ मा १८ जना तथा क्षेत्र नम्बर २ र ३ मा २३/२३ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए । तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ ।
कुल ६४ जना उम्मेदवारमध्ये चितवन–१ मा विजेता रास्वपा उम्मेदवारका साथै कांग्रेस तथा नेकपाका एमालेका उम्मेदवार, चितवन–२ मा विजेता रास्वपा र नेपाली कांग्रेसका उम्मेदवार तथा चितवन–३ मा विजेता रास्वपा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले मात्रै जमानत जोगाएका छन् । सदर मतको १० प्रतिशत मत नआए जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा तिरेको धरौटी रकम जफत हुन्छ । ६४ मध्ये ५७ उम्मेदवारको धरौटी जफत भएको छ ।