— म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनः चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा झरेका छन् ।
दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे ।
'एकैदिन ८ सय पुस्तक बिक्री गरेर रु ६ लाख आम्दानी भयो,' उनले भने, 'बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।'
पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आएका थिए । जेनजी आन्दोलनअघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्दै आएका थिए ।
गत भदौको २३ र २४ जेनजी आन्दोलनपछि पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बने । स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्किएका हुन् ।
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
पुन २२ हजार ८५० मत ल्याएर विजयी भए । प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत पाए । निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनको भनाइ छ ।