: जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १४२ उम्मेदवारमध्ये १२८ जना उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले मनोनयन पत्र दर्ता गराउने समयमा राखेको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।
कार्यालयका अनुसार चारवटै निर्वाचन क्षेत्रमा १ सय ४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिए पनि १४ जना उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गर्दै जमानत जोगाउन सफल भएका छन्।
निर्वाचन क्षेत्र नम्बर–१ मा ३९ जना उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा २६ उम्मेदवारमध्ये एमाले र जनता समाजवादी पार्टीका उम्मेदवारसहित २३ जनाको जमानत जफत भएको छ भने
निर्वाचन क्षेत्र नम्बर–३ मा ४० उम्मेदवारमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहित ३७ जनाको जमानत जफत भएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–४ मा ३७ उम्मेदवार मध्य एमाले, जसपा र आजपासहित ३४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए।
निर्वाचन अधिकृत दासका अनुसार कानुनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था रहेको छ। १ सय २८ जना उम्मेदवारको धरौटी जफत हुँदा कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्वमा जम्मा भएको दासले जानकारी दिए। विजेता उम्मेदवारको भने कानुन अनुसार रितपूर्वक निवेदन र खर्च विवरण पेस भएपछि फिर्ता हुने अधिकृत दासले बताए।