— कांग्रेस सभापति गगन थापाले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग सोमबार साँझ भएको भेटवार्तामा थापाले राजीनामा दिने जानकारी गराएका हुन् । गत २७–३० पुसमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो ।
तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा जान नसकिने भन्दै थापा र उपसभापति शर्माले पार्टीभित्रै विद्रोह गरेर विशेष महाधिवेशन गराएका थिए । देउवा र उनीपक्षीय नेताहरूको असहमतिबीच विशेष महाधिवेशन गराएर पार्टीको नीति र नेतृत्व बदलेर थापाको कमान्डमा कांग्रेस निर्वाचनमा होमिएको थियो ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारा दिएर निर्वाचनमा होमिएको कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेपछि थापाले उपसभापति शर्मालाई कार्यवाहक सुम्पेर पदबाट राजीनामा दिन लागेका हुन् । ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु’ सभापति थापाको भनाइ उद्धृत गर्दै उपसभापति शर्माले भने ।
तर, राजीनामाले समस्या समाधान नगर्ने भन्दै कांग्रेसको पुनर्जागरणका लागि थापाकै नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने शर्माको सुझाव छ । चुनावमा कांग्रेस पराजित हुनुको दोषी एउटा व्यक्ति र विशेष महाधिवेशन नभएको भन्दै सम्हालिएर हिँड्नुपर्ने बेलामा राजीनामा दिन उपयुक्त नहुने शर्माको भनाइ छ । ‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ’ थापालाई शर्माको सुझाव थियो, ‘राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिनु हुन्न ।’
निर्वाचनमा आक्रामक रूपमा अघि बढेका थापा आफैं सर्लाही–४ बाट पराजित भएपछि रक्षात्मक भएका छन् । कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १८ सिट जितेको छ भने समानुपातिकतर्फ पनि १६ प्रतिशत हाराहारीमा मात्र मत पाइरहेको छ । यसलाई लिएर पार्टीभित्रकै विपक्षी कित्ताका केही नेताले विशेष महाधिवेशनको औचित्य र वैधतामाथि नैतिक प्रश्न उठाएर सभापति थापामाथि नैतिक दबाब बढाएका छन् । उनी निकटकै केही नेताले भने तत्काललाई राजीनामा दिएर उपसभापति शर्मालाई कार्यवाहक सभापति दिने र १५ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएर आउन सुझाइरहेका छन् ।
‘सभापतिका लागि अहिले दुई विकल्प छन् । एउटा हारको नैतिक जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाशलाई कार्यवाहक सभापति दिने र आसन्न १५ औं महाधिवेशनबाट सभापति हुने, अर्को केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको आग्रहबमोजिम राजीनामा नदिएर पार्टी पुनर्निर्माणका लागि जुट्ने’ थापानिकट एक केन्द्रीय सदस्यले भने, ‘तर पार्टी उपसभापतिसहित अधिकांश केन्द्रीय कार्यसमितिको भावना भने राजीनामा दिन हुन्न भन्ने छ ।’
निर्वाचनमा पराजयका कारणबारे समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउने र जतिसक्दो चाँडो १५ औं महाधिवेशन गर्नेबारेमा दुई नेताबीच छलफल भएको छ । केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुअघि थापाले सार्वजनिक रूपमा धारणा राख्ने तयारी गरेका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गरिने बताए । उनका अनुसार सभापति थापा अस्वस्थ रहेकाले बैठक बोलाउन केही ढिलाइ भएको छ । ‘अब दुई/तीन दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर समीक्षा हुन्छ’ उनले भने ।
कांग्रेसले यसअघि नै २८–३१ वैशाखसम्म १५ औं महाधिवेशन गर्ने तालिका पारित गरिसकेको छ । निर्वाचनलगत्तै तोकिएकै कार्यतालिकामा महाधिवेशन गर्न नसकिए पनि अबको बैठकबाट महाधिवेशन तयारी अघि बढाइने उपसभापति शर्माले बताए । विशेष महाधिवेशन नियमित महाधिवेशनको निरन्तरता नहुने भएकाले कांग्रेसले अबको एक वर्षभित्र १५ औं महाधिवेशन गर्नुपर्ने हुन्छ ।
थापानिकट राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले कांग्रेसले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर आत्मसमीक्षा गरेर वैशाख वा जेठमा नै १५ औं महाधिवेशनको बाटो लिनुपर्ने बताए । ‘गगन जस्तो मूल्य, नैतिकता र सिद्धान्तको राजनीति गर्दै आएका नेताले निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिएर राजीनामा दिने सोच्नु स्वाभाविक हो । यस्तो नजिर र संस्कारले नेतृत्वलाई थप लोकतान्त्रिक, उत्तरदायी र नैतिक बनाउँछ,’ वाग्लेले भने, ‘तर अहिले कांग्रेस पराजित हुनुमा गगनको नेतृत्व र उनले अख्तियार गरेको नीति होइन, विगतको नेतृत्वको असफलता, अलोकप्रियता र कांग्रेस सरकारमा हुँदाको भ्रष्टाचार, कुशासनको कारणले हो ।’
कुनै पनि नेतृत्वको परीक्षण ५० दिनमै हुन नसक्ने उनको भनाइ छ । ‘विशेष महाधिवेशनमार्फत नेतृत्व मात्रै परिवर्तन भएको थियो । अब कांग्रेसलाई मौलिक रूपमा स्थापित गर्न आवश्यक छ । त्यसका लागि गगनजीले नयाँ कांग्रेस बनाउने मार्गचित्र तय गर्नुपर्छ,’ वाग्लेले भने ।
अर्को पक्षले पार्टीभित्र निष्क्रिय रहेका पूर्वसभापति देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरूले आफ्नै निर्वाचन क्षेत्रमा समेत कांग्रेसको पक्षमा भोट नमागेको भन्दै विरोध सुरु भएको छ । निर्वाचनको मुखमा सिंगापुर गएका देउवा भोट हाल्नसमेत नफर्केपछि उनीनिकट नेताहरू अहिले रुष्ट छन् । सुदूरपश्चिममै देउवाले आफूनिकटका उम्मेदवारको पक्षमा समेत भोट मागेनन् ।
०४८ सालदेखि निरन्तर चुनाव जत्दै आएको गृहजिल्ला डडेल्धुरामा समेत यस पटक रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले चुनाव जितेका छन् । त्यहाँ नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर कांग्रेसबाट उम्मेदवार थिए । धेरै बिन्ती गर्दा पनि देउवा एक पटक पनि जिल्ला नपुगेको गुनासो महरले आफूनिकटहरूलाई सुनाउने गरेका छन् ।
देउवा पक्षकै कतिपय नेताहरू पनि कांग्रेसलाई पुनःजागृत गराउन गगनको विकल्प नभएको स्विकार्छन् । देउवापक्षीय नेता श्याम घिमिरेले सामाजिक सञ्जालबाट सभापतिको राजीनामाको कुरा गर्नुभन्दा अब नियमित महाधिवेशनको गृहकार्य गरेर त्यहींबाट नेतृत्व चयन गर्नुपर्ने जनाएका छन् । ‘विशेष महाधिवेशनबाट परिवर्तन हुन्छ भन्ने साथीहरूलाई लाग्यो तर भएन । चुनावमा गगनजीको अनुहारभन्दा बालेन र रविको अनुहार बिक्यो,’ घिमिरेले भने, ‘तर पनि कांग्रेसमा गगन जतिको अर्को नेता अहिले छैन । अब कांग्रेसलाई उनकै नेतृत्वमा पुनर्गठित र एकताबद्ध बनाएर जानुपर्छ । त्यसका लागि नियमित महाधिवेशन नै विकल्प हो ।’
ads/hardik-niskula-opd1440270-23220261237511-0432026041502.jpg
अर्का नेता रामहरि खतिवडा यस्तो बेलामा एकले अर्कालाई दोष दिएर र गाली गरेर समस्याको समाधान नहुने बताउँछन् । ‘समानुपातिकको नतिजा आइसकेपछि हारको गहिरो समीक्षा हुनुपर्छ, पदाधिकारीले सरसल्लाह गरेर चाँडै बैठक बोलाउनुपर्छ,’ उनले भने, ‘राजीनामाको कुराभन्दा पनि अब नियमित महाधिवेशनको तयारीतिर जानुपर्छ ।’
सभापति गगनको हारले पनि कांग्रेसभित्र ठूलो हलचल पैदा गरेको छ । काठमाडौं–४ को चुनावी मैदान छाडेर थापा यस पटक सर्लाही–४ मा कसरी पुगे भन्ने विषय पनि चर्चा बनिरहेको छ । अहिलेको हारबाट थापाको १८ वर्षदेखिको संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ । कांग्रेसमा सभापति मात्रै होइनन्, केन्द्रीय कार्यसमितिमा रहेका धेरैजसो पदाधिकारी पराजित भएका छन् । उपसभापतिद्वय शर्मा र पुष्पा भुसालले चुनावै लडेनन् । महामन्त्री द्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित भए । अर्का नेता शेखर कोइराला, एनपी साउद, मीनेन्द्र रिजाल, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, प्रकाश रसायली ‘स्नेही’ लगायत नेताहरू समेत पराजित भएका छन् ।
संसद्मा गगन नहुनु भनेको बहसको एउटा महत्त्वपूर्ण स्वर कमजोर बन्नु हो भन्छन्, केन्द्रीय सदस्य सुवास पोखरेल । ‘संसद्को बहस प्रायः औपचारिक र दलगत सीमाभित्र सीमित हुने परम्परामा गगन नै त्यस्तो व्यक्ति थिए, जसले पार्टीको सीमाबाहिर गएर सत्यको पक्षमा बोले,’ उनी भन्छन्,‘यसको अभाव संसद्मा त हुन्छ नै, तर सडकमा पनि गगनको आवश्यकता छ ।’
कांग्रेस नेता सुनील शर्मा शून्यबाट उठ्नुपर्ने बेला सभापतिमाथि प्रश्न उठाएर राजीनामाको विषय झिक्नु गलत भएको बताउँछन् । ‘सभापतिको राजीनामा माग्ने कुरा क्षणिक भावावेश मात्र हो । आज देखिएको संकटको मूल कारण दशकौंदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीतिको परिणाम हो,’ उनले भने ।