: राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहणका गरेका छन्। सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्। शपथपछि अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यलाई संसदको लोगो प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सातै प्रदेशमा १८ पदका लागि भएको निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए।
यी हुन् नवनिर्वाचित सांसद्हरू
कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए। त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भए। त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भए।
त्यस्तै राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भए। लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भए।
त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती विजयी भए।