: बारामा ‘क्लिन स्वीप’ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि बलियो जनमत बटुलेको छ । प्रत्यक्षतर्फ जिल्लाको चार वटै निर्वाचन क्षेत्र बिजय हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि ५५.५ प्रतिशत मत पाएको छ ।
चार वटा निर्वाचन क्षेत्रबाट रास्वपाले एक लाख ७६ हजार ६७ मत पाएको हो । बारामा समानुपातिकतर्फ तीन लाख १७ हजार एक सय ८४ मत खसेको थियो । बारा क्षेत्र नं. १ मा रास्वपाले ४२ हजार एक सय ७१ मत पाएको छ । खसेको ८० हजार ३८ मतमा नेकपा कांग्रेसले १२ हजार दुई सय ४५, नेकपा एमालेले ९ हजार ९ सय ३३, जसपा नेपालले दुई हजार ६ सय २६, नेकपाले दुई हजार चार सय ४३, राप्रपाले एक हजार तीन सय ७८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. २ मा रास्वपाले ३९ हजार ६ सय १९ मत पाँउदा जसपा नेपालले ११ हजार ९ सय ९, कांग्रेसले १० हजार तीन सय ३०, एमालेले ६ हजार तीन सय ५६, राप्रपाले एक हजार ३७, नेकपाले ९ सय ८४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा ७७ हजार ९ सय १७ मत खसेको थियो ।
यसैगरी बारा क्षेत्र नं. ३ मा पनि रास्वपा अग्रस्थानमा छ । रास्वपाले ४३ हजार आठ सय ५६ मत पाउँदा कांग्रेसले आठ हजार दुई सय ४२, एमालेले पाँच हजार ७७, जसपा नेपालले पाँच हजार सात सय ४२, जनमतले तीन हजार दुई सय ३०, नेकपाले एक हजार तीन सय ६९ र राप्रपाले एक हजार ६५ पाएको छ ।
बारा क्षेत्र नं. ४ मा रास्वपाले जिल्लाभरीकै सर्वाधिक मत पाएको छ । ८० हजार ९ सय १५ मत खसेको उक्त क्षेत्रमा रास्वपा एक्लैले ५० हजार चार सय २१ मत पाएको छ । उक्त क्षेत्रमा एमालेले आठ हजार ९ सय ८४, कांग्रेसले पाँच हजार १८, जसपा नेपालले चार हजार ४७, नेकपाले एक हजार ९ सय ४८, राप्रपाले एक हजार सात सय ८५ मत प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ बारा क्षेत्र नं. १ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९ सय ९८ मत, बारा क्षेत्र नं. २ मा चन्दनकुमार सिंह ३५ हजार पाँच सय ९० मत, बारा क्षेत्र नं. ३ मा अरविन्द साह ४० हजार ६ सय ९७ मत र बारा क्षेत्र नं. ४ मा रहबर अन्सारी ४१ हजार दुई सय मत प्राप्त गर्दै निर्वाचित भएका थिए । २०७९ सालमा एमालेले जितेको दुई, तत्कालिन नेकपा एकीकृत समाजवादी र जसपा नेपालले जितेको एक–एक गरी चार वटै क्षेत्रमा रास्वपाले जितको झण्डा गाडेको हो ।