— पार्टी सभापति गगन थापाको पराजयसँगै कांग्रेसभित्र अब के हुन्छ भन्ने खुसफुस सुरु भएको छ । सभापति र पार्टीका सबैजसो शीर्ष नेताहरू नै पराजित भएपछि विशेष महाधिवेशनबाट नेतृत्वमा आएकाहरूमाथि पनि प्रश्नहरू उठ्न थालेका छन् । यही पृष्ठभूमिमा कान्तिपुर संवाददाता कुलचन्द्र न्यौपानेले गरेको संक्षिप्त कुराकानी :
कांग्रेसले यो निर्वाचन परिणामलाई कसरी लिएको छ ?
केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्छ । बैठकपछि हामी समीक्षा गर्छौं । नियमित महाधिवेशनको प्रक्रिया पनि सुरु गराउँछौं । सांगठनिक रूपमा संगठनलाई व्यवस्थित गराउने काममा लाग्छौं ।
यसअघि वैशाखमा तोकिएको मितिमा महाधिवेशनको तयारी गर्ने हो ?
त्यहीँ मितिमा गर्न सकिन्छ कि सकिँदैन भन्ने समीक्षा पनि गर्छौं । त्यसमै गर्न सकियो भने सबैको साझा स्वामित्व पनि हुन्छ । चैतभरि तयारी गरेर डेढ महिनाभित्र महाधिवेशन नसकिने भन्ने कुरो छैन । तर अहिले चुनाव हारेको कारण एकखालको निराशा भइरहेको छ, अलि पछि गर्ने कि भन्ने पनि छ । त्यसबारे अब बस्ने बैठकले एउटा दृष्टिकोण बनाउँछ । त्यसपछि हामीसँग असहमत रहनु भएका नेताहरूसँग पनि सल्लाह गर्छौं ।
निर्वाचनमा कांग्रेसका तपाईँ नेताहरूले यस्तो परिणाम आउला भन्ने अपेक्षा गर्नुभएको थियो ?
यो धेरैले अनपेक्षित भने पनि यो अप्रत्याशित थिएन । यस परिणामलाई हेर्दा ०७९ सालको निर्वाचनसँग जोडेर हेर्नुपर्छ । त्यसका लागि ०७९ को स्थानीय तहको निर्वाचनमै धरान, काठमाडौं र धनगढीमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदाताले जिताएर के संकेत दिएका थिए ? त्यसलाई बुझ्नुपर्छ । त्यतिबेला मतदाताले दलहरू रूपान्तरित हुनुपर्छ भन्ने सन्देश दिएका थिए । दलहरू बदलिनुपर्छ, नभए हामी बदलिन्छौँ भनेका थिए । हामी बदलिन सकेनौँ, तर त्यो मतको संकेतलाई बुझेर र नागरिकको असन्तुष्टिलाई भोटमा बदल्न सकिने रहेछ भन्ने बुझेर रास्वपाको जन्म भयो ।
०७९ को निर्वाचनमा संसदमा हामी ठूलो दल त भयौँ । तर हामीले सरकारको नेतृत्व पनि गरेनौँ, प्रतिपक्षको नेतृत्व पनि गरेनौँ । सरकारले काम गर्दा सल्लाह–परामर्श नगरी गर्ने, तर दोष कांग्रेसले पनि पाउने अवस्था भयो । यसले निर्वाचनलाई असर गर्यो । जेनजी आन्दोलनपछि हामीले पार्टीभित्र व्यापक सुधार र नेतृत्व बदल्यौँ । तर त्यसलाई आम नागरिकमाझ स्थापित गर्न सकिएन ।
विशेष महाधिवेशनले नेतृत्व र नीति बदलेको भन्नुभयो । तर त्यसलाई मतदाताले पत्याएनन् । अहिले यसको औचित्य नै समाप्त भयो भन्नेहरू पनि छन् नि ?
महाधिवेशनले पार्टी पंक्तिलाई चाहिँ ऊर्जामा लग्यो । विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्यो । तर नागरिकको घरसम्म, मनसम्म पुर्याउने काम गर्न सकिएन । समय नै पुगेन । निर्वाचनका लागि तयारी गर्न पर्याप्त समय पुगेन । किनभने हामीले विशेष महाधिवेशन गरिसक्दा निर्वाचनको मनोनयन आइसकेको थियो । प्रतिकूल परिस्थितिबाट उम्मेदवारी दिने अवस्थामा थियौँ ।