। धनकुटामा १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का उम्मेदवारसहित १३ जनाले १० प्रतिशत मत समेत कटाउन सकेनन् ।
एक लाख १६ हजार ४२५ मतदाता रहेको धनकुटामा ६४ हजार ९१ मत खसेको थियो । जसमा ५९ हजार २०८ मत सदर तथा चार हजार ८८३ मत बदर भएको थियो । सदर मतको कम्तीमा १० प्रतिशत मत नपाए उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।
सो प्रावधानअनुसार विजयी नेकपा एमालेका राजेन्द्रकुमार राई, दोस्रो भएका नेपाली कांग्रेसका दिनेश भण्डारी, तेस्रो भएका श्रम संस्कृति पार्टीका सानबहादुर राई र चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले मात्रै जमानत जोगाएका छन् ।
नेकपा उम्मेदवार धर्मराज पौडेलले एक हजार ६६५ मत मात्रै प्राप्त गर्नसके । सोही कारण उनको जमानत जफत भएको छ । यस्तै एक हजार १८१ मत पाएका स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ, ७०३ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वीभत्सु थापा, ४३२ मत पाएका जनता समाजवादी पार्टीका आइतराज लिम्बूको जमानत जफत भयो ।
यस्तै जनता समाजवादी पार्टीका निशान राईले २३८ मत, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले २२१ र नेकपा माओवादीका रविनकुमार राईले १३२ मत मात्रै पाएर जमानत जोगाउन सकेनन् ।
६ जना उम्मेदवारले त एक सय मत पनि कटाएनन् । जसमा नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मीको २२ मत, आम जनता पार्टीका प्रेमबहादुर थापाको ५५ मत, स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जनको ५६ मत, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीको ६५ मत, मंगोल नेशनल अर्गनाइजेशनका सागर राईको ८२ र स्वतन्त्र उम्मेदवार जितेन्द्र राईको ९१ मत छ ।
अन्तिम मत परिणामअनुसार एमालेका राजेन्द्र राईले १८ हजार १३२ मतसहित विजयी हुँदा कांग्रेसका दिनेश राईको १४ हजार २५७ मत, श्रम संस्कृति पार्टीका सानबहादुर राईको ११ हजार ९३२ मत र रास्वपाका दिनेश भण्डारीको ९ हजार ९४४ मत पाएका छन् ।