मुख्य समाचार
मधेसवादी दलहरूले ‘चुनाव हारेको मात्रै हो विश्वास अझै जीवित’रहेको दाबी
मधेसवादी दलहरूले ‘चुनाव हारेको मात्रै हो विश्वास अझै जीवित’रहेको दाबी

: २०६३-०६४ को मधेस विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका मधेसवादी राजनीतिक दलहरू जेनजी विद्रोहसँगै भएको निर्वाचनबाटै बढारिएका छन्। यसलाई मधेसवादी दलहरूले ‘चुनाव हारेको मात्रै हो विश्वास अझै जीवित’रहेको दाबी गरेका छन्।

मधेस प्रदेशको ३२ मध्ये एउटा सिट पनि नजितेर मधेस केन्द्रित दलले चुनावी मैदानबाट आउट भएका छन्। ‘अबकी बार, बालेन सरकार’को नाराले ३० बढी सीटमा राष्ट्रिय स्वतन्त्र पार्टी कब्जा जमाइसकेको छ। उपेन्द्र यादव नेतृत्वको मधेसवादी दल जनता समाजवादीसहितका अन्य दलहरूको मत परिणाम हेर्दा राष्ट्रिय पार्टी पनि नबन्ने खबरहरू निर्वाचन आयोगबाट सार्वजनिक भइरहेका छन्।


मधेसवादी दलका शीर्ष नेताहरूसमेत मधेस आन्दोलनको ‘इपिसेन्टर’बाटै यसपटक मतदाताको विश्वास जित्न असफल भएका छन्। मधेसका 'मसिहा'हरूको दम्भमा मधेसबासीहरूले मौन विद्रोह गरेर ‘ब्यालेट क्रान्ति’ गरेका हुन्। जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पटक-पटक सरकारमा मन्त्री बन्दै आएका शरतसिंह भण्डारी, राजकिशोर यादव तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत प्रमुख नेताहरू आफ्नै राजनीतिक गृह जिल्लामा पराजय व्यहोरेका छन्, त्यो पनि आफ्नै छोरा,भतिजा, नाति पुस्तासँग। पार्टीका शीर्षस्थ नेताहरू आफ्नै जन्मथलोमा हारको खबरबाट मर्माहत भएका छन्।



राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको परिणाम केवल निर्वाचन परिणाममात्र नभई मधेसको राजनीतिक मनोविज्ञानमा आएको गहिरो परिवर्तनको संकेत हो। भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ र युवापुस्ताको बढ्दो असन्तुष्टि चुनावी परिणाममा स्पष्ट देखिएको विश्लेषण गरिएको छ।

इन्जिनियर मनोज कुमार महतोका अनुसार मधेसवादी दलहरू मधेसी जनता (भाइभरदार, काका-काकी, आमा-बुबा) आफैं मान्छे सम्झिएर २०६४ सालयता भोट लिइरहे। मधेसी जनताले भन्न चाहेको कुरो पनि मधेसी दलहरूले सुन्न चाहेनन्। उनले भने, ‘मधेसी जनताले मनमनै पीडा दबाएर बसेका थिए। ‘मेरो पनि अस्तित्व छ, म पनि मान्छे हो’ भनेर अहिले मधेसले बालेनलाई भोट दिएर मौन विद्रोह गरेका छन्।’

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै मधेसको राजनीतिक भूमिबाट लगभग मधेसबादी दलहरू लोप हुने अवस्थामा पुगेका विश्लेषणहरु भइरहेका छन्। तर, मधेसवादी दलका नेताहरूले चुनावमात्रै हारेको हो, पार्टी, संगठन, एजेन्डा अझै जीवित रहेको दाबी गरेका छन्। मधेस मामिलाका विश्लेषक डा. विजय कुमार मिश्रका अनुसार मधेस केन्द्रित दलहरू दशकौंसम्म प्रभावशाली रहँदै आएको क्षेत्र यसपटक पूर्णतः नयाँ राजनीतिक शक्तिको हातमा पुगेको छ। स्वार्थ मिल्दा जुट्ने, सत्ताको लोभमा फुट्ने चरित्र बनाएका मधेसवादी दलहरूलाई बालेन सरकारको नाराले सत्ता यात्रामा अहिलेलाई पूर्णविराम लगाएको छ।

निर्वाचन परिणामअनुसार मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजय हासिलको इतिहास रचिरहँदा यससँगै मधेसको राजनीतिक नक्सामा ठूलो परिवर्तन देखिएको छ। समानुपातिक मततर्फ पनि रास्वपाकै अग्रता देखिएको छ। दुई दशकको राजनीतिक इतिहास बनाएको मधेस केन्द्रित दलहरूको आधारभूमिमा रास्वपाले टिङटिङ... घण्टी बजाएर सान्दार जित हात परेको हो।

राजनीतिक विश्लेषक फ्रोफेसर सन्त सत्यनारायण आलोका अनुसार 'अबकी बार, बालेन सरकार' भन्ने नाराले विशेषगरी युवा मतदातामा व्यापक प्रभाव पारेको देखिन्छ। परम्परागत मधेसवादी दलहरूप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वको खोजीले मतदातालाई रास्वपातर्फ आकर्षित गरेको उनीहरूको भनाइ छ।

मधेस आन्दोलनपछि पहिलोपटक मधेस केन्द्रित दलहरू राजनीतिक रूपमा यति कमजोर देखिएको टिप्पणी पनि गरिएको छ। दशकभन्दा बढी समय मधेसको राजनीतिमा निर्णायक भूमिका खेलेका दलहरू एकैपटक चुनावी मैदानमा पराजित हुनु मधेसको राजनीतिक इतिहासमै ठूलो मोडका रूपमा हेरिएको छ।

अब मधेसमा रास्वपाको भारी बहुमतसँगै संघीय राजनीति र प्रदेश स्तरको शक्ति सन्तुलनमा समेत नयाँ समीकरण बन्ने संकेत देखिएको छ। विश्लेषक डा. मिश्रले मधेसवादी दलहरूले मधेस जनतासँग भोट लिएर सत्ता र शक्तिमा मात्रै पुग्ने काम गरेकाले त्यसलाई यसपटक 'ब्रेक' गरेका हुन्।

‘मधेसका जनताको आशा र अपेक्षामाथि मधेसवादी दलहरूले पूरा गर्न सकेनन्,’ उनले भने, ‘मधेसमा सरुवा, बढुवा, विकासका काम सबैमा घुस, कमिसन लिएर मधेस आश्रित दलहरूले काम गरे। त्यसबाट मधेसी जनतामा भित्रभित्रै उकुसमुकुस थियो। विकल्प खोज्दै थिए। त्यसबेला मधेसका बेटा बालेन काठमाडौं महानगरपालिकाको मेयर भएर काम गरिरहेका थिए। राम्रो सडक बनाए पनि कति घुस नेताले खाएका होलान् भन्ने मधेसमा भाष्य निर्माण भयो।’ उता उपेन्द्र यादवहरू संविधान संशोधनका लागि मधेसी जनताबाट लागि भोट लिएर जान्थे, सत्तामा पुगेर चुप लागेर बस्थे।

उनले थपे, ‘यही मौका हो भनेर मधेसी जनताले मधेसका बेटा बालेनलाई प्रधानमन्त्री बनाएर मधेसी जनताले संविधानमा आफ्ना माग पूरा गराउन मधेसबाट सबै मधेसी जनताले घण्टीलाई भोट दिए। मधेसी जनताले मधेसवादी दलको सत्ता यात्रा बन्द गरेकोमा धन्यवाद दिनुपर्छ। मधेसी जनताले भोटमात्रै होइन, मन पनि बालेनलाई दिएका छन्।’

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मधेसमा देखिएको नतिजा केवल चुनावी प्रतिस्पर्धाको परिणाममात्र नभई पुराना दलप्रति बढ्दो असन्तुष्टिको प्रतिफल भएको राजनीतिक विश्लेषक प्रोफेसर सन्त आलोकले बताए। उनका अनुसार चुनाव घोषणा भएपछि समेत प्रमुख राजनीतिक दलहरूले समयमै स्पष्ट दृष्टिकोण र घोषणापत्र प्रस्तुत गर्न सकेनन्, जसले मतदातामा निराशा बढाएको थियो।

प्रोफेसर आलोकका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) देशका मुद्दाभन्दा बढी आन्तरिक राजनीतिक विवाद र दलभित्रको शक्ति संघर्षमै अल्झिएको देखियो। यता मधेस केन्द्रित दलहरू पनि स्पष्ट कार्यक्रम र वैकल्पिक एजेन्डासहित मधेसमा ल्याउन नसक्दा मतदाताको विश्वास गुमाउँदै गए।

उनले भने, ‘मधेसवादी दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी चुनावी तयारीभन्दा बढी एकीकरणको चर्चामै केन्द्रित भए।’ चुनाव घोषणा भइसकेपछि पनि दलहरू स्पष्ट योजना र घोषणापत्र ल्याउन सकेनन्, अर्कोतिर मधेसका छोरा बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने घोषणासहित मधेस झर्‍यो। यसले चुनावी नतिजामा सुनामी नै ल्याएको उनले सुनाए।

प्रोफेसर आलोकका अनुसार चुनावी अभियानका क्रममा नेताहरूले जेनजी आन्दोलनको पृष्ठभूमिमा ‘देश बचाउने कि देश जलाउनेबीचको संघर्ष’ जस्ता नारा र भाषणमा बढी जोड दिए, तर मधेसी जनताको वास्तविक मुद्दा र विकासका एजेन्डा प्रस्तुत गर्न सकेनन्।

यही अवस्थाबीच राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस आश्रितसहित अन्य दलका कमजोरी र विवादलाई चुनावी मुद्दाका रूपमा प्रस्तुत गर्दै मतदातामा प्रभाव जमाएको उनको विश्लेषण छ। उनका अनुसार मधेसी मतदाताले यसपटक परम्परागत नेतृत्वभन्दा नयाँ विकल्प रोज्ने मनोविज्ञान देखाए। ‘मधेसी जनताले उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत, शरतसिंह भण्डारी, राजेन्द्र महतोभन्दा ‘मधेसका बेटा’ भनेर चिनिने बालेन्द्र शाहको नेतृत्वलाई राम्रो विकल्पका रूपमा हेरेर मत दिएका छन्,’ उनले भने।

प्रोफेसर आलोकका अनुसार मधेसमा आएको यो परिणामले आगामी दिनमा मधेसको राजनीति र राष्ट्रिय शक्ति सन्तुलनमा समेत ठूलो परिवर्तन ल्याउन सक्ने संकेत गरेको छ। काठमाडौंमा बालेनले गरेको कामबाट प्रभावित भएर मधेसी जनताले महोत्तरीका धर्तिपूत्रलाई देशको प्रधानमन्त्री बनाउन मत दिएको इन्जिनियर महतोले सुनाए।

बालेनका मामा धनुषा निवासी कारिराम साहले देशको उन्नती प्रगति भान्जा बालेनको काँधमा आएको सुनाए। उनले भने, ‘जनताले चाहेको कुरा अब पूरा होस्।’ यता जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्रा झाले मधेसवादी दलहरू चुनाव हारेको हो तर, रास्वपापछिको मधेसको ३२ मध्ये २० सिटको चुनावी प्रतिस्पर्धामा आफ्नै पार्टीको मत रहेको सुनाए।

‘हामीले चुनाव हारेको हो तर, मधेसवादी दलले उठाएको एजेन्डा अझै जीवित छ,’ उनले भने, ‘मधेस जनताले रास्वपालाई मधेसको एजेन्डा संविधान संसोधन गराएर पूरा गर्न मत दिएको हो। अब हाम्रो काँधमा त्यो कामका लागि बन्ने सरकारलाई खबरदारी गर्ने जिम्मेवारी मधेसी जनताले दिएका छन्। त्यो पूरा गर्छौं।’

मधेसवादी दलहरूमात्रै होइन, पुराना दल एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीहरूलाई जनताले चुनाव हराएको उनले बताए। लोकतन्त्रमा जित हार हुन्छ, चुनाव हार्दैमा पार्टी, नेता र एजेन्डा नसकिएको जसपा नेता डा. झाको भनाइ छ।

‘मधेसी दलहरूले नयाँ दललाई मत दिएको मात्रै हो, माया त हामीलाई नै गरेको चुनावबाट पुष्टि भएको छ। मधेसको धेरै सिटमा पुराना दलहरूभन्दा अगाडि हामी नै छौं,’ उनले भने, ‘बालेनलाई रास्वपाले प्रधानमन्त्रीमा बनाउने जुन निर्णय गरेको चुनावमा गयो त्यो फयाक्टले मधेसमा रास्वपाले चुनावी नतिजा हात परेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...