: पर्साको चार वटै निर्वाचन क्षेत्रमा जित हात पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्वीप’ गरेको छ । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको आइतबार बिहान घोषित मतपरिणाम अनुसार, पर्सा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।
यसअघिका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी दलले जित हात पार्दै आएको पर्सा जिल्लामा यसपालि भने ती दलको विरासत खोस्दै चार वटै निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको हो । २०७९ को निर्वाचनमा पर्साका चारमध्ये दुई वटामा कांग्रेस, एउटामा नेकपा एमाले र एउटामा जसपा नेपालले जित हासिल गरेको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने चार वटै क्षेत्रमा मधेसी दल (संघीय समाजवादी फोरमले ३ र लोसपाले १ क्षेत्रमा) ले बाजी मारेका थिए ।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने पर्साका चारमध्ये दुई वटा क्षेत्रमा कांग्रेसले र दुई वटा क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यसअघिको २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने पर्साका तत्कालीन पाँच निर्वाचन क्षेत्रमध्ये तीनमा कांग्रेस, एउटामा मधेसी जनअधिकार फोरम नेपाल र एउटामा नेकपा एमाले विजयी भएको थियो ।
तर यसपालिकाको निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा पुराना सबै दलको विरासत ढाल्दै रास्वपाका उम्मेदवारहरु निर्वाचित भएका छन् । चारमध्ये तीन नेपाली कांग्रेसका तर्फबाट तीन पूर्वमन्त्री र नेकपा एमालेका तर्फबाट एक जना पूर्वमन्त्री चुनावी मैदानमा रहे पनि चारै जना पूर्वमन्त्रीले रास्वपाका उम्मेदवारसंग लज्जास्पद पराजय भोगेका छन् ।
पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त (हरि पन्त) २७ हजार २ सय ७४ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतको मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन् । यसअघिका दुवै निर्वाचनमा लगातार जित हात पारेका एमालेका यादवले यसपालि भने १३ हजार ३० मत मात्रै पाए । उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार अनिल रुंगटा भने ११ हजार ८८५ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगेका छन् ।
पर्सा क्षेत्र नम्बर–२ मा पनि रास्वपाकै उम्मेदवार सुशीलकुमार कानु ३० हजार ७४० मतका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियालाई १८ हजार ८५० मतको मतान्तरले पराजित गर्दै कानु विजयी भएका हुन् । सातौ पटक निर्वाचन लडेका कांग्रेसका चौरसियाले ११ हजार ८९० मत मात्रै पाए । उक्त क्षेत्रमा एमाले उम्मेदवार रिमाकुमारी यादवले भने ११ हजार ६०५ मत मात्रै पाइन् ।
पर्सा क्षेत्र नम्बर–३ मा पनि रास्वपाकै उम्मेदवार रामाकान्त चौरसिया पनि फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले पछाडि पार्दै रास्वपाका चौरसिया विजयी भएका हुन् । चौरसियाले २९ हजार ६६७९ मतका साथ जित हात पार्दा कांग्रेसका चौधरीले भने १६ हजार ३६६ मत मात्रै पाए । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले ११ हजार ९१४ मत ल्याए ।
पर्सा क्षेत्र नम्बर–४ मा पनि रास्वपाकै उम्मेदवार टेकबहादुर शाक्य २८ हजार ६ मतका साथ निर्वाचित भएका छन् । । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतको मतान्तरले पराजित गर्दै शाक्य निर्वाचित भएका हुन् । २०४८ यताका सबै निर्वाचनमा कांग्रेस उम्मेदवार बन्दै आएका रिजाल यसपालि भने १२ हजार ५३४ मतमै सीमित हुनु प¥यो । उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत मात्रै प्राप्त गरेका छन् ।