: अमेरिका–इरानयुद्धको बाछिटा नेपालको होटेल उद्योगमा पनि पर्ने देखिएको छ। अमेरिका तथा युरोपेली मुलुकबाट मध्यपूर्वी एसिया ट्रान्जिट हुँदै नेपाल आउने पर्यटक उतै अड्किएपछि होटेल उद्योगमा असर पर्न सक्ने होटेल व्यवसायीले बताएका छन्। हिउँदमा प्रायः पर्यटक संख्या कम हुने गरेकामा वसन्त ऋतु सुरुसँगै पर्यटक सिजनमा पनि सुरु भएको हो। सिजनको सुरुमा नै युद्धले मध्यपूर्वी क्षेत्रको उडान ठप्प हुँदा त्यसको असर होटेल उद्योगमा देखिन नै सुरु गरिसकेको होटेल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन्।
‘युद्धको असरदेखि नै थाल्यो। अमेरिका र युरोपबाट आउने पर्यटक जुन समूहमा आउँछन्,उनीहरू फसेका छन्। नेपाल आउने प्रवेशद्वार कि दुबई,कि दोहा हुन्। अरेबियन एयरलाइन्स युद्धले प्रतिबन्धमा पर्दा उडान डिस्टर्ब भएको हुनाले अब अलिकति प्रभाव त पक्कै पनि परिहाल्यो,’शाहले अन्नपूर्णसँग बताए। अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
यसका कारण ८० प्रतिशत बाह्य उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान भएको छ। द्वन्द्वका कारण कतार,यूएई, कुबेत,इरान, इराक,इजरायल,जोर्डन,लेबनान र बहराइन गरी ९ देशले आफ्नो एयरस्पेस बन्द (हवार्ई क्षेत्रको प्रतिबन्ध) गरेका छन्। ९ देश गरिएको हवाई क्षेत्रको प्रतिबन्ध कारण नेपालबाट ती देशहरूमा हुने उडान प्रायः रद्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। नेपाल एयरलाइन्स,हिमालय एयरलाइन्स र बुद्ध एयर (अन्तर्राष्ट्रिय उडान भारतको बनारस) र बाँकी २७ अन्तर्राष्ट्रिय वायु कम्पनीले नेपालबाट बाह्य मुलुकमा उडान भर्दै आएका छन्। नेपालबाट दैनिक १८ अन्तर्राष्ट्रिय उडान मध्यपूर्वी एसियामा हुने गरेका छन्।
यसै कारण,अमेरिका र युरोपका पर्यटक ‘वेट एन्ड सी’को अवस्थामा रहेको छ। अहिले नै कुनै बुकिङ ठ्याक्कै क्यान्सिल पनि भइनसकेको भन्दै अध्यक्ष शाहले आउने पर्यटक परिबन्धमा परेको बताए। विगत एक हप्तादेखि मध्यपूर्वी एसियाबाट उडान नहुँदा बुकिङ भएका होटेल रद्द भए सरह नै भएका छन्। ‘प्लेन नै नआएपछि उनीहरू आउने कुरै भएन। रद्दै जस्तो त हो। तर, उनीहरू तोकिएको समय भन्दा १०–१५ दिन ढिला आउन चाहेको बेलामा अतिरिक्त शुल्क नलिने होटेलहरूले आफ्नो वेभसाइटमा सूचना नै जारी गरेका छन्। सम्बन्धित एयरलाइन्सले पनि टिकट सारेकोमा कुनै शुल्क लिएका छैनन्। यसले पनि सकारात्मक सन्देश जान्छ,’ शाह बताउँछन्। ती मुलुकबाट आउने पर्यटकलाई रुट परिवर्तन गरेर आउन सकिन्छ कि भनेर पनि हेरिरहेका उनको भनाइ छ। टर्किस एयर एउटा विकल्प हुन सक्ने देखिन्छ।
‘उनीहरू त्यो अरेबियन एयरस्पेस छलेर यता अफगानिस्तान,रसिया भएर आउन सक्छन्। रसियन एयर रुटबाट अथवा तलबाट पनि नेपाल आउन सक्छन्। अमेरिकाबाट पनि कति पर्यटक प्यासिफिकबाट आउन लागेका छन्। अमेरिकाबाट अब जापान अथवा कोरिया हुँदै आउन सकिन्छ अथवा हङकङबाट,’उनले भने। अहिले पर्वतारोहणको सिजन पनि सुरु भएको हुँदा यो युद्धले यता पनि असर पर्ने देखिएको छ।
तर,मध्यपूर्वमा चर्किको यो युद्ध कति लामो हुन्छ भन्ने नै थाहा नहुँदा यसको असर कति पर्न सक्छ अहिले नै भन्न नसकिने देखिन्छ। सन् २०१९ मा कोभिड महामारीका कारण प्रायः ठप्प भएको पर्यटन उद्योग पुरानै लयमा फर्किंदै गरेको सरकारी तथ्यांकले देखाउँछ। तर,पर्यटक संख्या बढे पनि पूर्ण क्षमतामा होटेल सञ्चालन हुन नसकेको व्यवसायीहरू बताउँछन्। वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिने क्षमताका होटेल सञ्चालन भए पनि सोअनुरूप पर्यटन बजार बढ्न सकेको छैन। सन् २०२५ मा करिब साढे ११ लाख पर्यटक भित्रिएका छन्। चालु आर्थिक वर्षमा करिब १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ। होटेल पूर्वाधार एकातिर र सरकारको लक्ष्य अर्कोतिर देखिन्छ।
शान्तिपूण निर्वाचनले होटेल उद्योग उत्साहित
जेन–जी आन्दोलन पछि नयाँ निर्वाचित सरकार आउँदै गर्दै होटेल क्षेत्र भने उत्साहित देखिएको छ। सुशीला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न गर्नु विश्वमा सकारात्मक सूचना गएको छ। ‘यो चुनाव पनि शान्तिपूर्ण छ,एउटा खालको लहर जस्तो छ,त्यसले टुरिजममा पोजिटिभ नै इम्प्याक्ट पार्ला,’अध्यक्ष शाहले भने। नेपाल पर्यटन बोर्डले उडानको सम्बन्धमा सिचुएसन अपडेट दिइरहनुपर्ने बताउँछन्। वैकल्पिम रुटका बारेमा पनि बोर्डमा जानकारी पठाउन जरुरी रहेको भन्दै उनले विभिन्न देशमा रहेका दूतावासको भूमिका भने आशालाग्दो नभएको बताउँछन्।
यता,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले मध्यपूर्व क्षेत्रमा देखिएको हवार्ई उडान प्रतिबन्ध र अन्तर्राष्ट्रिय उडानहरू रद्द भइरहेको अवस्थालाई ध्यानमा राख्दै एक जरुरी सूचना जारी गरेको छ। सूचना अनुसार, मध्यपूर्वका केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोझै ती विमानस्थलसम्म मात्र जाने केही उडानहरू सञ्चालन हुन लागेका छन्। विशेषगरी तेस्रो मुलुकमा अलपत्र परेका ट्रान्जिट यात्रुहरूलाई लक्षित गरी केही वायुसेवाहरूले यी उडानहरू व्यवस्थापन गर्न लागेका हुन्।
मध्यपूर्वका देशहरू वा सो क्षेत्र हुँदै ट्रान्जिट भएर तेस्रो मुलुक यात्रा गर्ने सम्पूर्ण हवार्ई यात्रुहरूलाई सम्बन्धित वायुसेवासँग समन्वय गरी आफ्नो उडानको बुकिङ कन्फर्म भएपछि मात्र विमानस्थलमा आउन कार्यालयले विशेष अनुरोध गरेको छ। उडान तालिकाहरू अनिश्चित हुन सक्ने भएकाले यात्रुहरूलाई अनावश्यक सास्ती नहोस् भन्नका लागि विमानस्थल जानुअघि अनिवार्य रूपमा आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी आधिकारिक जानकारी लिनसमेत सूचित गरिएको उल्लेख छ। यसले स्थिति सहज बन्दै जाने अपेक्षा गरिएको छ।