मुख्य समाचार
रास्वपाको सुनामी
रास्वपाको सुनामी

: ०६२/०६३ को जनआन्दोलनपछि ठूला दलले भनेका थिए– अब राजनीतिक परिवर्तनका लागि जनताले कहिल्यै पनि विद्रोहको झण्डा उठाउनुपर्ने छैन।’ अर्थात्, देश समृद्धि र विकासको मार्गमा डोर्‍याउने जिम्मेवारी अब हाम्रो काँधमा भयो।’ त्यसैकारण ०७२ मा संविधान बनेपछि जनता एक प्रकारले ठूला दलको परीक्षण गरिरहेका थिए। तर, देश विकास र समृद्धिको मार्गमा अघि बढ्नुसट्टा सत्तालिप्सा र संसदीय राजनीतिका विकृतिले राजनीति दुर्गन्धित भयो। सुशासनको सट्टा जताततै भ्रष्टाचार मौलायो। सत्तामा बस्नेहरूले काखा र पाखाको व्यवहार गर्न थाले।


शासकका व्यवहार र शैलीबाट जनता वाक्कदिक्क भए। मुलुकमा रोजगारीका अवसर खुल्नुको सट्टा अर्थतन्त्र शिथिल हुँदै गयो। त्यही विकृति र विसंगतिबाट वाक्कदिक्क भएको जेन–जी पुस्ताले भदौ २३ र २४ गते आन्दोलन ग¥यो। राज्यले जेन–जीका माग सम्बोधन गर्नुको सट्टा आन्दोलनमा निर्मम दमन ग¥यो। आन्दोलनको बलमा पुराना दुई ठूला दल कांग्रेस र एमालेको दुईतिहाइको सरकार अपदस्थ भयो। अन्तरिम सरकार गठन गरी चुनाव गर्ने म्यान्डेड दिइयो। परम्परागत दलका विकृति र विसंगतिको भण्डाफोर गर्दै देश विकासको आशा जगायो– नयाँ पार्टी रास्वपाले। पुराना दलप्रति दिक्क भएका जनताले त्यसैकारण रास्वपालाई जनादेश सुम्पेको राजनीतिक विश्लेषकहरू बताउँछन्।


उपत्यका खर्लक्कै



काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा रास्वपाकै पक्षमा जनउभार देखिएको छ। उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता छ। देशको राजधानी काठमाडौंका १, ३, ६ र ८ निर्वाचन क्षेत्रमा जित निकालिसकेको छ। अरू क्षेत्रमा पनि रास्वपाकै अग्रसरता छ। अर्थात्, काठमाडौंका १० वटै, भक्तपुरका दुईवटै र ललितपुरका ३ वटै क्षेत्रमा रास्वपाकै नीलो झण्डा गाडिने पक्कापक्की जस्तै छ।

मधेस प्रदेशका अधिकांश क्षेत्र, कोशीका झापा, मोरङ र सुनसरीमा रास्वपाकै पक्षमा जनमत देखिएको छ। बागमती प्रदेशका चितवन, मकवानपुर, काभे्र, धादिङलगायत अधिकांश जिल्लामा पनि रास्वपाकै प्रभुत्व देखिएको छ। गण्डकीका कास्की, स्याङजा, तनहुँ, नवलपुरलगायत जिल्लामा पनि उस्तै छ। लुम्बिनीका रूपन्देही, पश्चिम नबलपरासी, पाल्पा, गुल्मीलगायत जिल्ला, दाङ, बाँके, बर्दिया, सुदूपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरालगायत जिल्लामा रास्वपाकै वर्चस्व देखिएको छ। छिटपुटबाहेक देशभर नै रास्वपा अर्थात् घण्टीमय भएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डोरप्रसाद अर्यालले पार्टी सभापति र वरिष्ठ नेताप्रति जनताको भरोसाको परिणाम चुनावमार्फत जनताले प्रकट गरेको बताए। ‘हामीले ल्याएको लहरलाई मतदाता जनताले शंका गर्नु पाउनुपर्छ,’ उनले भने, ‘जनताले शंका गर्न पाउनुहुन्छ। हामीलाई प्राक्टिकली काम गर्न दिनुप¥यो। हामीले जनताको आशंका कामबाट मेट्नेछौं ।’ देश निर्माणकै लागि रास्वपाको उदय भएको उनले बताए।

कांग्रेस र एमालेलाई ठूलै धक्का

एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले चुनावबाट पार्टीको बहुमत ल्याउने दाबी गरिरहेका थिए। तर, ओली र बस्नेत आफंै चुनाव हार्ने अवस्थामा पुगेका छन्। विशेष महाधिवेशन गरेर बदलिएको नयाँ कांग्रेस भनेर सभापति गगन थापा भोट मागिरहेका थिए। तर, गगन आफैं सर्लाही–४ को चुनावी परिणाममा रास्वपाका उम्मेदवार अमरेश सिंहसँग प्रतिस्पर्धामा निकै पछि परेका छन्। गगन नेतृत्वमा ‘बदलिएको’ कांग्रेसको प्रभाव नै चुनावमा परेको देखिएन। अघिल्लो निर्वाचनमा ८९ सिट ल्याएर सबैभन्दा ठूलो पार्टी कांग्रेस र ८८ सिट ल्याएर दोस्रो ठूलो पार्टी बनेको एमालेको ‘हरिबिजोग’ नै देखिएको छ। शीर्ष नेताहरू पराजित हुने अवस्थामा पुगेका छन्। कांग्रेस एमाले पराजित भएका क्षेत्रमा रास्वपाका उम्मेदवारसँग ठूलो मतान्तर देखिएको छ।

उता नेपाली कम्युनिस्ट पार्टीले भने आफ्नो आधार क्षेत्र रोल्पा, रुकुमलगायत जिल्लामा प्रभाव कायम राखेको देखिएको छ। यद्यपि, संख्यात्मक रूपमा भने उसको पनि ओरालो अवस्था नै छ। थ्रेस होल्ड कटाउन पनि नेपाली कम्युनिस्ट पार्टीलाई हम्मेहम्मे पर्ने देखिएको छ। मधेस केन्द्रित दल त पत्ता साप नै हुने अवस्थामा पुगेका छन्। राजतन्त्र र हिन्दुराज्यको एजेन्डा लिएर चुनावी मैदानमा रहेको राप्रपाको अवस्था पनि नाजुक नै देखिएको छ।

यो निर्वाचनमा सबैभन्दा ठूलो क्षति एमालेलाई भएको छ। जेन–जी अन्दोलनको बेला सरकारको नेतृत्व एमालेको भएकाले उसमाथि चौतर्फी आक्रमण पनि थियो। जेन–जी आन्दोलनमा दमन गरेको, सामाजिक सञ्जाल बन्द गरेको लगायत आरोप बोकेर एमाले चुनावमा होमिएको थियो। निर्वाचन प्रचारमा भन्दा पनि एमाले रक्षात्मक अवस्थामा रहनुपरेको थियो। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले यो जनादेशको संकेत २०७९ सालको स्थानीय निर्वाचनले गरेको स्मरण गराए। ‘२०७९ को स्थानीय निर्वाचनमा नै हामीले पुस्तान्तरण गर्नुपर्छ भन्ने संकेत त्यतिबेलै पाएका थियौं। त्यो लहर देखेरै रास्वपाको जन्म भयो, उपसभापति शर्माले भने, ‘२०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपा आयो र त्यो हाम्रा लागि अर्को संकेत थियो दल र सरकार रूपान्तरण गर्ने। रूपान्तरण समयमा गर्न नसक्दा यो विस्फोट भएको हो।’

जेन–जी आन्दोलनको बल

एमाले यति कमजोर देखिनुमा पार्टी र अध्यक्ष ओलीमाथि जेन–जी आन्दोलन प्रमुख कारण बन्यो। तत्कालीन सरकारको नेतृत्व गरेका ओली नेतृत्वको सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेको थियो। यद्यपि, ओलीले सिंहदरबार, सर्वोच्च र संसद् भवन जलाउनेलाई जनताले ठेगान लगाउने भन्दै भाषण गरिरहेका थिए। तर, जेन–जी आन्दोलनपछि नयाँ र पुराना दल भन्ने बहस तीव्र भयो। अधिकांश जेन–जीले नयाँ दललाई भोट हाल्नुपर्ने अभियान नै सुरु गरे। त्यसको फाइदा रास्वपाले उठाएको विश्लेषण र्न थालिएको छ।

एमालेको उम्मेदवारी चयनमा असन्तुष्टि

एमालेमा उम्मेदवारी चयनमा भएको विभेदले निर्वाचन नतिजामा निकै असर परेको देखिएको छ। युवा नेता एवं एमाले उपमहासचिव योगेश भट्टराई, गोकुल बाँस्कोटा, कर्ण थापालगायतलाई उम्मेदवार नबनाइएको भन्दै एमाले पंक्तिमा व्यापक असन्तुष्टि उत्पन्न भयो। मिलन गुरुङ(चक्रे मिलन) जस्ता विवादित पात्रलार्ई टिकट दिनुलगायत विषयले परिणाम असर गरेको देखिएको छ।

विद्या भण्डारीप्रतिको व्यवहार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फ्याक्टरले पनि एमालेलाई असर परेको देखिन्छ। भण्डारी पार्टीमा फर्कन चाहेकी थिइन्। तर, उनलाई पार्टी फर्कनबाट अवरोध गरियो। यो विषयमा पार्टीभित्र ठूलै विवाद भयो। एमालेको महाधिवेशनमा इतर पक्षमा लागेको भनेर कतिपय सक्षम नेताहरू पनि नेतृत्वमा आउन पाएन। यसले असन्तुष्टि सिर्जना गरेको देखिएको छ ।

सरकारमा रहँदाको कार्यशैली

पहिलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर सरकार बन्यो। संविधान संशोधनलगायत ७ बुद्धे सहमति गरेर ओली नेतृत्वको सरकार बनेको थियो। पहिलो र दोस्रो ठूलो दल मिलेर मुलुकलाई निकास दिन्छ भन्ने अपेक्षा गरिएको थियो। तर, न संविधान संशोधनको सिन्को भाच्ने काम भयो न त सुशासन दिएको अनुभूति नै जनताले गरे। सरकारका मन्त्रीहरू विवादै विवाद आए। ओली नेतृत्वको सरकारले जनतालाई सहज सेवा प्रवाह पनि गर्न
नसकेको देखियो।

ओलीसँग नेता र कार्यकर्ता दूरी

पछिल्ला समयमा एमाले अध्यक्ष ओलीसँग नेता र कार्यकर्ताका दूरी धेरै रह्यो। ओलीलाई भेट गर्न कार्यकर्तालाई मात्रै होइन, एमाले नेतालाई सकसको अवस्था रह्यो। त्यो झापा ५ मा भोट माग्ने क्रममा ओली स्थानीय जनताले पनि आफू जिल्ला समय र गुनासो नै राख्न नपाएको दुखेसो पोखेका थिए। अध्यक्ष ओली र उनी निकटका नेताहरूमा रहेको दम्भ र अंहकारले पनि पार्टीलाई क्षति पुगेको एमालेकै नेताहरू बताउँछन्।

चुनावी गठबन्धन

पछिल्लो दलहरूमा चुनावी गठबन्धनको संस्कार भित्रियो। यो संस्कारले आफू मतदान गर्दै आएको चुनाव चिह्नमा कार्यकार्ता भोट हाल्न पाएनन्। जसले उनीहरूलाई भोट परिवर्तन गर्ने विषय सामान्य बन्दै गयो। विगतमा अर्को दलको चिह्न भोट हाल्न पनि दलका कार्यकर्ता हच्किन्थे तर पार्टी र नेताले गठबन्धनमा नाम भोट जसलाई हाल्न केही नहुने रहेछ भन्ने भाष्य निर्माण भयो। देशी विदेशी प्रभाव यो निर्वाचनमा एमाले ठूलो धक्का लागेको छ।

शीर्ष नेता संकटमा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ बाहेकका शीर्ष नेताहरू संकटमा देखिएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहबीचमा ठूलो मतान्तर भइसकेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अवस्था पनि त्यस्तै छ। नेपाल नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक पनि हुन्।

उता कांग्रेस सभापति गगन थापा, महामन्त्री गुरुराज घिमिरे, नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, सुनिल शर्मालगायत शीर्ष नेताको अवस्था पनि त्यस्तै देखिएको छ। एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव रघवीर महासेठ, सचिव डा. राजन भट्टराई, मधेस बस्नेतलगायत नेताको अवस्था त्यस्तै देखिएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सोचेको जस्तो परिणाम ल्याउन सकेनन्।

नेकपी कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले यो निर्वाचमा कांग्रेस र एमालेलाई ठूलो धक्का लागेको बताउँदै आफनो पार्टीले पनि हैसियत कायम गर्न सक्ने नसक्ने भन्ने अवस्था
रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...