: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच बर्ष कांग्रेसले खेर जान नदिने बताएका छन् । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले सुर्खेतमा आयोजना गरेको विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले मतदातालाई आस्वस्त पार्दै भने, ‘अबको पाँच वर्ष देशका लागि निर्णायक समय हो । यो समय खेर जान दिदैनौँ । कर्णाली, जहाँ सम्भावना भन्दा समस्याका कथाहरू बढी सुनिन्छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका सूचकमा पछाडि परेको यो प्रदेशमा नेताहरूको भाषण नयाँ होइन । तर गगनको प्रस्तुति अलि फरक देखिन्थ्यो । कर्णालीका खास मुद्वा र ठोष योजनासहित । उनले विगतका कमजोरी स्वीकार्दै भने, हामीले पनि अपेक्षा अनुसार काम गर्न सकेनौँ । तर अब बहाना होइन, परिणाम चाहिन्छ ।’
उनले देशमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय शिक्षा र पारदर्शी शासन रहेको बताए । कर्णालीका युवालाई लक्षित गर्दै उनले सीपमूलक तालिम, स्थानीय उद्योग प्रवद्र्धन र पर्यटन विकासलाई प्राथमिकतामा राख्ने बताए । ‘कर्णालीबाट युवा विदेशीनु बाध्यता होइन, विकल्प हुनुपर्छ’, उनले भने ।
कृषिमा उनले स्याउ, जडीबुटी र पशुपालनलाई व्यावसायिक बनाउने स्पष्ट योजना सुनाए । किसानले उत्पादन गर्छन् तर बजार पाउँदैनन् भन्ने गुनासोलाई सम्बोधन गर्दै उनले सहकारी र सरकारी संयन्त्रमार्फत सुनिश्चित बजारको प्रतिवद्धता जनाए । स्वास्थ्यतर्फ, दुर्गम जिल्लामा विशेषज्ञ सेवा पुर्याउन प्रोत्साहन प्याकेज र टेलिमेडिसिन विस्तारको योजना सार्वजनिक गरे ।
‘कर्णाली विकास नहुनुको कारण स्रोत अभाव मात्र होइन, व्यवस्थापनको कमजोरी पनि हो’, उनले भने, ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने र जनताको मुख्य सवाल राज्यले प्राथमिक्ता दिनु पर्नेछ ।’ उनले कर्णालीबाट कांग्रेसलाई पहिलो पार्टी बनाउन हरेक नेता तथा कार्यकर्ताहरु निर्वाचन केन्द्रीत मतदाताको घर घर पुग्न निर्देशन पनि दिए ।