: गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर कुनै शंका नगर्न सबैलाई आग्रह गरेका छन् । विराटनगरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले निर्वाचनको सम्पूर्ण तयारी सकिएको र सुरक्षा योजना पनि पूर्णरूपमा लागू भइसकेको बताए ।
उनले भने, ‘यो निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । रोकिन्छ वा हुँदैन भन्ने अफवाहमा पत्याएर प्रश्न उठाउनु उचित होइन । निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क हुनुहोस् ।’ सुरक्षा, स्वच्छता र निष्पक्षताको प्रत्याभूति गर्दै यस निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता सरकारले गरिसकेको उनको भनाइ छ । गृह मन्त्रालयको उच्चस्तरीय टोलीले शुक्रबार बिहानैदेखि निर्वाचन सुरक्षा र तयारी बुझ्न विभिन्न जिल्लामा भ्रमण गरेको छ ।
टोलीले स्थानीय प्रशासन र सुरक्षा निकायबाट मतदानका दिनको सुरक्षा, सम्भावित चुनौती तथा निर्वाचनको तयारीका बारेमा जानकारी लिएको छ । टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगर लगायत सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीहरू थिए ।
मन्त्री अर्यालले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा विगतका कमजोरी सच्याउँदै यस पटक धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता पुनः दोहोर्याएका थिए । उनले सामाजिक सञ्जालमा फैलिने मिथ्या र भ्रमपूर्ण सूचनाबाट जोगिएर चुनावी तयारीमा जुट्न सबैलाई आग्रह गरे ।
निर्वाचनमा आचारसंहिता पालनालाई विशेष महत्व दिइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । देशभरका १६५ निर्वाचन क्षेत्रमा आचारसंहिता उल्लंघन गर्ने १ हजारभन्दा बढीलाई कारबाही गरिसकिएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले भने, ‘यो नागरिक सरकार कानुन कार्यान्वयनमा ढिलाइ नगर्ने, निष्पक्ष र गैरदलीय भएर काम गर्ने सरकार हो । आचारसंहिता उल्लंघन गर्नेहरुलाई दण्ड दिइनेछ ।’
मन्त्री अर्यालले पहाडी भेगमा मौसम खराब नहुने अपेक्षा पनि व्यक्त गरे । उनका अनुसार निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना पूर्ण रूपमा कार्यान्वयन भइरहेको छ । अर्यालले सबै दल र नागरिकलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र कुनै खालको अफवाहमा नपर्न आग्रह गरेका छन् । ‘निर्वाचन र यसको मितिबारे द्विविधा नराख्नुहोस् । तयारी पूर्ण भइसकेको छ । यो निर्वाचन समयमै हुने निश्चित छ,’ उनले भने ।