: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश विभाजन गर्न खोज्नेहरु अब किनारा लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र मधेस विभाजन गर्न खोज्ने राजनीतिको अन्त्य गर्ने दावी गरे ।
सभापति लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो गरी उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकिएको बताएका छन् । ‘देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा ग¥यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौं त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यस पटक हामीले विभेदको अन्त्य सँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ’ उनले भने ।
उनले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गरेका छन् । सभापति लामिछानेले गलत मान्छेलाई भोट दिँदा पाप लाग्ने बताए । उनले भने, ‘दुईटै छाप घण्टीमा हो समानुपातिक पनि प्रत्यक्ष पनि । नत्र हामीलाई सिट पुग्दैन । सरकार बनाउनको लागि संख्या चाहिन्छ, सिट चाहिन्छ । भोट आधी आधी गर्यो भने संख्या पुग्दैन त्यसैले दुवैतिर जसले जे भने पनि ।’
पैसा खर्च गरेर मधेसको भोट किन्ने मान्छेहरूप्रति खबरदारी गर्न आग्रह गरे । उनले भने, ‘पैसाले भविष्य बेच्ने होइन । पैसामा आफ्नो भविष्य नबेच्नु होला । कसैले दिएछ भने लिए हुन्छ त्यो हाम्रो भविष्य चोरेको पैसा हो । आफ्नो पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन । तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।’
उनले मधेसले मात्र होइन नभई सिङ्गो देशले पहिलो पटक धेरै युवा उम्मेदवार प्राप्त गरेको भन्दै इतिहास लेख्न अवसरबाट नचुक्न आग्रह गरे । उनीसँगै कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति थियो ।