: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएपछि सरकार फेरि सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ र टोली घटनास्थल पुगेर अध्ययन सुरु गरेको छ।
तर यो पहिलो पटक भने होइन, जब ठूलो दुर्घटनापछि छानबिन समिति बन्छ । हरेक गम्भीर घटनापछि प्रतिवेदन तयार हुन्छ, सिफारिस गरिन्छन् तर कार्यान्वयनको प्रश्न भने बारम्बार उठ्ने गरेको छ । यही सन्दर्भमा बेनीघाट दुर्घटनालाई धेरैले ‘फेरि दोहोरिएको कथाका रूपमा हेर्न थालेका छन् ।
समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनिया, सडक विभागका सिडिई राकेश महर्जन मन्त्रालयका उपसचिव वर्तराज पौडेल, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव तथा यातायात व्यवसायी राष्ट्रीय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला सदस्य रहेका छन् । एक साताभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । टोलीले सडकको भौगोलिक अवस्था, सवारीको प्राविधिक परीक्षण, चालक व्यवस्थापन र सम्भावित मानवीय त्रुटिमाथि अध्ययन गरिरहेको जनाएको छ ।
विशेष गरी रात्री समयमा सवारी साधनको गति अनुगमन गर्ने प्रणाली अत्यन्त आवश्यक छ । घुमाउरो र उकालो–ओरालो सडकपछि आउने समतल र सोझो सडक खण्डमा समेत अनुगमन लागू गर्नु जरूरी छ, ताकि दुर्घटनाको जोखिम न्यून गर्न सकियोस् ।
चोटपटक अनुसन्धानकर्ता डा. पुष्पराज पन्त भन्छन् समस्या केवल चालकको त्रुटि वा सवारीको अवस्था मात्र होइन । रात्रिबस सञ्चालनको नियमन, चालकको कार्यघण्टा, अनिवार्य विश्राम, सडक जोखिम मूल्यांकन र नियमित अनुगमन जस्ता विषय दीर्घकालीन समाधानका आधार हुनुपर्छ ।
बेनीघाटको दुर्घटनास्थल चुनौतीपूर्ण मोड, उकालो–ओरालो र साँघुरा सडकले चिनिएको क्षेत्र हो । स्थानीयवासीका अनुसार यसअघि पनि त्यहाँ साना–ठूला दुर्घटना हुँदै आएका थिए । प्रश्न उठ्छ जोखिम चिनिएको क्षेत्रका लागि पूर्वतयारी किन भएन ? १९ जनाको ज्यान गएको यस घटनाले फेरि स्पष्ट पारेको छ ‘ सडक सुरक्षा केवल संवेदनशीलताको भाषणले सुरक्षित हुँदैन; त्यसका लागि कठोर कार्यान्वयन, नियमित अनुगमन र राजनीतिक प्रतिबद्धता आवश्यक छ ।
विशेष गरी रात्री समयमा सवारी साधनको गति अनुगमन गर्ने प्रणाली अत्यन्त आवश्यक छ । घुमाउरो र उकालो–ओरालो सडकपछि आउने समतल र सोझो सडकखण्डमा समेत अनुगमन लागू गर्नु जरूरी छ, ताकि दुर्घटनाको जोखिम न्यून गर्न सकियोस्। जोखिमपूर्ण मानिएका सडक खण्डमा राति पनि काम गर्ने गरी घुम्ती निरीक्षक व्यवस्था प्रदेश यातायात व्यवस्थापन ऐनमा प्रावधान छ; यसको पूर्ण कार्यान्वयन हुन आवश्यक छ ।