— हेटौंडा उपमहानगरपालिका-१९ वस्तीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक र मोटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएको छ ।
हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ग२ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे । उक्त दुर्घटनामा राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय मोटरसाइकल चालक सन्जित स्याङ्तान र सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको छ ।
दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए । घाइतेद्धयको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
ट्रकले ठक्कर दिएर भागेको थियो । उक्त ट्रकलाई बिरगन्ज महानगरपालिका- १३ प्रतिमाचोकस्थित ग्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरापालिका- ३ का ३६ वर्षीय अनिल साह फरार रहेको प्रहरीले जनाएको छ ।