— घर परिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगाएकी एक नेपाली युवतीको भारतमा उद्धार गरिएको छ । भारतको हिमाचाल प्रदेशको कोतखाई भन्ने स्थानबाट रूकुम पश्चिमकी २१ वर्षीया युवतीको उद्धार गरेको सामाजिक संस्था ‘किन इन्डिया’ले जनाएको छ ।
पीडितका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको ‘हटलाइन’मा फोन सम्पर्क गरेर उद्धारको आग्रह गरेको थिए । दूतावासले ‘किन इन्डिया’ तथा हिमाचलका प्रहरीसँग समन्वय गरेर पीडितको उद्धार गरेको छ ।
‘किन इन्डिया’ का प्रमुख नविन जोशीले चार वर्ष अगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगानधनीले पछि घरमा काम लगाएको बताए । घरमा काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको जोशीको भनाइ छ । किशोरी ११ कक्षा पढ्दै गर्दा हिमाचल प्रदेश आइपुगेकी थिइन् ।
हिमाचाल प्रहरी तथा स्थानीय बाल कल्याण समितिको सहयोग लिएर पीडितको उद्धार गरेको जोशीले जानकारी दिए । घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । ‘पीडित तनावमा देखिएकी छन् । उनको स्वास्थ्य उपचार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइने छ,’ कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा जोशीले भने, ‘हिमाचालको कोटखाई थानामा आवश्यक प्रक्रिया भइरहेको छ ।’