: नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले निष्पक्ष निर्वाचनको वातावरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए।
कांग्रेसले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चालिसे त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन पनि आग्रह गरेको छ। जनताको मताधिकार गर्ने अधिकार दायाँबायाँ गर्ने छुट सरकारलाई नभएको पनि उनले बताए।
‘निर्वाचनको निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो। हामीले बारम्बार भनेका छौं कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो,’ चालिसेले भने, ‘यसमा दायाँबायाँ गर्ने छुट सरकारलाई छैन। कांग्रेसले अहिलेसम्म शंका गरिसकेको छैन। तर, निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा सचेत हुन जरुरी छ।’
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आइतबारै काठमाडौंमा आयोजित एक कार्यक्रममार्पmत तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्। उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका छन्।
भण्डारीले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै अझै पनि केही उम्मेदवारहरूले आफूलाई निर्वाचनका बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गरे। उनले कुनै भ्रममा नपरी निर्वाचनको प्रचार–प्रसारमा लाग्न सुझाव दिए। उनले भने, ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न गरिरहेका छन्।’
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने भन्दै राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको स्पष्ट पारे।
नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताए। उनले भने, ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन्।
अब निर्वाचनको वातावरण बिथोलिने वातावरण बन्दैन। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ। कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस्। अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहिँ बिथोल्न सक्दैनौं।’
घर फर्किनुुस् : कांग्रेस
कांग्रेसले दल छाडेका नेता/कार्यकर्तालाई पुन : पार्टीमा फर्किन आह्वान गरेको छ। प्रवक्ता चालिसेले भने, ‘निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण चुलिँदै गएको छ। विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेता कार्यकर्ताहरू नेपाली कांग्रेस पार्टीमा आबद्ध हुने लहर देशभरि चलेको छ। हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्राएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं। हामी पुन : आह्वान गर्न चाहन्छौं, घर छाडेका साथीहरू फर्किनुस्।
प्रवक्ता चालिसेले अन्य दलमा रहेका नेताहरूलाई पनि कांग्रेसमा जोडिन अनुरोध गरेका छन्। ‘अन्य पार्टीमा रहेका साथीहरू नेपाली कांग्रेसमा जोडिनुस र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस्,’ उनको अपिल छ।