: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कसैले चुनावमा बुथ कब्जा गर्ने कल्पना नगरे हुने बताएका छन् । उनले नेकपा एमालेले कसैलाई बुथ कब्जा गर्न नदिने चेतावनी दिए ।
झापाको दकममा सोमबार कोशीको नेशनल भोलिन्टियर्स फोर्सको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जा गर्न नदिइने बताएका हुन् । ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने कल्पना नगरेर हुन्छ । बुथ कब्जा गर्ने छुट दिइने छैन,’ ओलीले भने, ‘कसैले बुथ कब्जा गर्न पाउने पनि छैन ।’
त्यसका लागि भोलिन्टियर्स फोर्स गठन गरिएको उनको भनाइ थियो । उनले हरेक बुथमा भोलिन्टियर्स राख्ने बताएका छन् । उनले देशभरका हरेक बुथमा कम्तिमा ३० जना भोलेन्टियर्स राख्न समेत निर्देशन दिए । प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उनको भनाइ थियो । उनले टोलटोलमा भोलेन्टियर्स फोर्स गठन गर्न निर्देशन दिंदै यसका लागि पार्टीले आवश्यक सहयोग गर्ने बताए । उनले फोर्सलाई स्थानीय पार्टीले पनि हस्तक्षेप गर्न नहुने बताए ।
एमालेले आफ्नो नेतृत्वमा देशका धेरै विकासका काम गरेको पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दावी गरे । उनले देशको जुनसुकै कुनामा गए पनि एमालेले के गर्यो भनेर सोधे जवाफ पाइने बताए । अध्यक्ष ओलीले भने, ‘जहाँ उभिएको छ, त्यो ठाउँबाट हेरे एमालेले गरेको विकास सजिलै देखिन्छ ।’ अध्यक्ष ओलीले गर्भमा हुँदादेखि अन्तिम सँस्कारसम्मका लागि एमालेले नागरिकका पक्षमा काम गरेको दावी गरेका छन् । उनले किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएकाहरुको पक्षमा एमालेले काम गरेको बताएका छन् ।