: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा आउने वित्तिकै देश कुद्ने दावी गरेका छन् । झापाको दकममा सोमबार कोशीको नेशनल भोलिन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि देश जहाँको त्यहि बस्ने र केहि नहुने बताउँदै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश ।’
कतिपयले आफूलाई किन उम्मेदवार बन्नु भएको ? भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको बताएका छन् । ‘कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नु भएको छ, यतिधेरै विकास गर्नु भएको छ, अब फेरि किन उम्मेदवार हुन प¥यो र ? काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो,’ ओलीले जिकिर गरे ।
आफूले सरकारको नेतृत्व गर्ना साथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीले बताए । ‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे । काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।’
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ बालेन्द्र शाहलाई लक्षित गर्दै बच्चाले जस्तै प्रधानमन्त्री बन्छु भनेको कटाक्ष गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न भिजन चाहिने बताएका छन् । प्रधानमन्त्रीका उम्मेदवारबारे चर्चा गर्दै ओलीले भने, ‘बच्चालाई के हुने भनेर सोध्यो भने प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ । केही मान्छेलाई यस्तै लाग्यो प्रधानमन्त्री बन्ने भनेका छन् ।’
आउँदो प्रतिनिधि सभाको चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । त्यस्तै रास्वपाले शाहलाई र नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । त्यसबारे चर्चा गर्दै ओलीले प्रधानमन्त्री बन्न बच्चाले भने जस्तो नहुने टिप्पणी गरेका हुन् । ‘हामी प्रधानमन्त्री हुन भिजनसहित आएका छौँ,’ ओलीले भने ।