: गुल्मी यातयात प्रालिले २४औ स्थापना दिवस सामाजिक तथा सेवामुखी कार्यक्रमसहित मनाउँदै महत्वपूर्ण घोषणाहरू गरेको छ । अब कम्पनीका सवारीमा यात्रा गर्ने सबै यात्रुले यात्रा अवधिभर अतिरिक्त बीमा सुविधा पाउने भएका छन् ।
हालको ५ लाख रुपैयाँ बीमाबाहेक प्रतियात्रु न्यूनतम २ लाखदेखि ५ लाख रुपैयाँसम्म थप बीमा गरिने अध्यक्ष रुपकलाल श्रेष्ठले जानकारी दिए । चालक, सहचालक र कर्मचारीको बीमा भने यसअघि नै गरिसकिएको उनले बताए । स्थापना दिवसकै अवसरमा जिल्लाको सदरमुकाम तम्घासमा अबस्थित गुल्मी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
त्यस्तै, रिपोर्टिङका क्रममा सवारी प्रयोग गर्नुपर्ने पत्रकारहरूलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने घोषणा गरिएको छ । २०५२ सालमा जिप व्यवसायबाट सुरु भई २०५९ मा विधिवत् दर्ता भएको संस्थासँग हाल ४४० सवारीसाधन छन्, जसमध्ये ३१७ सञ्चालनमा रहेका छन् । तम्घास र रिडीमा आफ्नै भवन तथा जिल्लाभर ६८ टिकट काउन्टरमार्फत सेवा दिँदै आएको कम्पनीले आगामी दिनमा सेवा विस्तार र थप सवारी भित्र्याउने योजना सार्वजनिक गरेको छ ।
यात्रुको सुरक्षा र नागरिकमैत्री सेवामा केन्द्रित हुँदै गुल्मी यातायातले आफ्नो सामाजिक जिम्मेवारीलाई थप मजबुत बनाएको जनाएको छ । संस्थाले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर रहने संस्थाका महासचिव हिमाल कुँवरले जानकारी दिए ।
हाल बुटवल, काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा नियमित सेवा प्रदान गर्दै आएको कुँवरले बताए । संस्थासँग हाल ४४० वटा सवारीसाधन रहेकोमा ३१७ वटा सवारीसाधन सञ्चालन (रनिङ) अवस्थामा रहेको महासचिव कुँवरले बताए । संस्थाले आगामी दिनमा थप नयाँ सवारीसाधन भित्र्याउने, सेवा विस्तार गर्ने तथा यात्रुको सुविधालाई अझ प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ ।