: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि सबै दल गम्भीर हुनुपर्ने बताएका छन्। आज झापामा आयोजित एक कार्यक्रममा ओलीले सबैले देशको अस्तित्व रक्षा, स्वाभिमानको रक्षा गर्न गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्।
अहिलेको संविधान एउटा सम्झौताको दस्तावेज भएकाले संशोधन गर्न सकिने उनको भनाई छ।
‘हामी स्थिरताको पक्षमा जानुपर्छ। अहिलेको संविधान एउटा सम्झौताको दस्तावेज हो। भर्खर भर्खर राजगद्दीबाट हटाएको राजा, राजा पक्षधर र भर्खर माओवादी भर्खर जनयुद्ध भनेर हिंसा मच्चाएर आएको माओवादी, संविधान बन्न नदिने विरोधीहरु पनि थिए, त्यहि भएर भर्खर राजगद्दीबाट हटाएको राजाका समर्थक र माओवादी, मधेश आन्दोलन लगायतबाट आएका दलका बीचबाट सहमति गरेर बनाउँदा अहिलेको संविधान आएको हो। सबै हामीले भनेको लागु हुने अवस्था थिए त्यसलाई आगामी दिनमा सुखी नेपाल, समृद्धि नेपालको राष्ट्रिय आकांक्षाको गन्तव्यमा पुग्ने गरी संविधान संशोधन हुन्छ।’
उनले संविधानलाई साधारण ढंगले मलमपट्टी गरेर मात्र नपुग्ने बताए। ओलीले भने,‘अब फराकिलो मन राखेर, ठूलो संकल्प चाहिएको छ, यो संविधानलाई साधारण ढंगले मलमपट्टी गरेर होइन, म नेपालका राजनीतिक दललाई आग्रह गर्न चाहन्छु- एउटा गम्भीर बहस गरौं। एउटा रिभूलेशन आवश्यक छ तर रिभुलेशन भनेको आगो लगाउने भनेको होइन।’
उनले व्यवस्था र अवस्था दुवै परिवर्तन भएको तर पर्याप्त नभएको, अझै बाँकी रहेको उल्लेख गरे। नेपालमा परिवर्तन आवश्यकता रहेको बताए। अहिले पनि सुखी नेपाल, समृद्धि नेपालको चर्चा गर्न एकथरीलाई मान्छेलाई भन्न नसक्दा अझै समस्या रहेको उनको भनाई छ।