— निर्वाचन सुरक्षालाई लक्ष्य गरेर सरकारले सातवटै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट थप टोली परिचालन गरेको छ । गृह मन्त्रालयले दुवै प्रहरी प्रधान कार्यालयबाट डीएसपीदेखि एसएसपीसम्मको नेतृत्वमा थप टोली खटाएको हो । उनीहरूलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ ।
निर्वाचन सुरक्षाका लागि यसअघि तैनाथ सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको हो । टोलीलाई ‘एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२’ को कार्यान्वयन अवस्था, सुरक्षा विश्लेषण, अनुगमन, नियमन, फिल्डमा देखिएका चुनौती तथा अवलम्बन गर्नुपर्ने सुधारका उपायसहित केन्द्रमा प्रतिवेदन बुझाउन र फिल्डमा समन्वय गर्न निर्देशन दिइएको छ ।
सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टाछुट्टै २३ टोली परिचालन गरेको छ । प्रत्येक टोलीलाई ३ देखि ४ जिल्ला हेर्ने जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एसपी/डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाएको छ । प्रहरीले सुरक्षा दृष्टिकोणबाट संवेदनशील र अतिसंवेदनशील मानिएका निर्वाचन क्षेत्रमा तीनवटासम्म र अरूमा एक–एक केन्द्रीय टोली परिचालन गरेको छ ।
गृह मन्त्रालयले मधेश प्रदेशको सुरक्षा वस्तुस्थिति र जोखिमलाई मध्यनजर गरेर केही दिनका लागि कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाएको छ । ‘केन्द्रबाट खटिएका सुरक्षाकर्मीलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले भनिन्, ‘उनीहरूले जिल्ला र प्रदेशस्थित आफ्ना संयन्त्रमार्फत समन्वय गर्नेछन् ।’
सम्बन्धित समाचार
निर्वाचन प्रचारप्रसारमा नहिँड्न स्थानीय कार्यपालिका पदाधिकारीलाई आयोगको निर्देशन
कान्तिपुर संवाददाता
फाल्गुन १०, २०८२
उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी
कान्तिपुर संवाददाता
फाल्गुन १०, २०८२
उपल्लो डोल्पामा घोडाबाटै सेनाको सुरक्षा गस्ती
रामचन्द्र न्यौपाने
फाल्गुन १०, २०८२
ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कार्यालय व्यवस्थापन र अत्यावश्यक काममा रहनेबाहेक सबै जनशक्ति निर्वाचन सुरक्षामा केन्द्रित गरेका छन् । निर्वाचन सुरक्षामा असर पुग्ने गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले निर्वाचन आचारसंहिता र कानुनको दायराभित्र रहेर गतिविधि गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
गृहले सात प्रदेशका लागि सातवटै निर्वाचन सुरक्षा डेस्क स्थापना गरी सात सहसचिवलाई खटाइसकेको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचनविरोधी गतिविधि निगरानी र नियन्त्रणका लागि सादा पोसाकमा ‘मार्सल टोली’ पनि यसअघि नै परिचालन गरेका छन् ।
२१ फागुनमा एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै गर्दा धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुग्ने, निर्वाचन सुरक्षालाई प्रतिकूल प्रभाव पार्ने, चुनावी प्रचारका क्रममा प्रतिस्पर्धी दलहरूले एकअर्का लक्षित उत्तेजक अभिव्यक्ति दिनेक्रम बढेकाले त्यसलाई सामना गर्न रणनीति अपनाइएको गृह मन्त्रालयले जनाएको छ ।
केन्द्रीय सुरक्षा समिति र गृह मन्त्रालयको केन्द्रीय कमान्ड पोस्टको निर्णयका आधारमा गृहमन्त्रीस्तरीय, दुवै प्रहरीका महानिरीक्षकस्तरीय संयन्त्र पनि विभिन्न प्रदेश र जिल्ला तथा निर्वाचन केन्द्रमा पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनेक्रम बढाइएको छ । धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी गौरमा दुई पक्षबीच शनिबार झडप भएपछि प्रशासनले कर्फ्यु लगाएर परिस्थिति नियन्त्रण लिएको छ ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
चुनाव प्रचारका क्रममा दाङको तुलसीपुरमा रास्वपाका समर्थक युवाले एमालेको झन्डा जलाएपछि एमाले आक्रोशित बनेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुने कार्यक्रममा हिँडेका व्यक्तिले बिहीबार राति एमालेको झन्डा जलाएका थिए । त्यसमा संलग्न आरोपमा तुल्सीपुर उपमहानगरपालिका–४ हलवारका रमेश रानामगर र वडा नं. ६ गाइडहरका विक्रम परियारलाई शनिबार र वडा नं. ७ कावाखोलाका बुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
झन्डा जलाएको विरोधमा एमाले समर्थित युवा संघका कार्यकर्ताले शुक्रबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेका थिए । शनिबार डोटी एमालेले पनि दाङ घटनाको विरोधमा मसाल जुलुस निकालेको थियो । रास्वपा समर्थकले बिहीबार दाङमै पूर्वराजा वीरेन्द्रको सालिकमा चढेर ‘अपमानजनक’ व्यवहार गरेको भन्दै राप्रपाले भर्त्सना गरेको छ र यस्ता गतिविधि नदोहोर्याउन चेतावनी पनि दिएको छ ।
चुनावी प्रचारका क्रममा एमाले र रास्वपाका नेताले एकअर्काविरुद्ध ‘आक्रोशित र उत्तेजक’ अभिव्यक्ति दिनेक्रम रोकेका छैनन् । दाङको चुनावी सभामा रास्वपा सभापति लामिछानेले ‘मलाई संसद्बाट निकाल्ने योजनाकार यहीं छन्’ भन्दै एमाले महासचिव शंकर पोखरेल लक्षित उत्तेजक अभिव्यक्ति दिएका थिए ।
ads/multiple-company-box-d-1022026053655.jpg
झापा–५ बाट चुनावी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार रास्वपालाई लक्ष्य गरेर उसका पछिल्ला गतिविधि ‘चुनाव बिथोल्ने योजना’ का रूपमा आएको टिप्पणी गरेका छन् । आफ्ना प्रतिस्पर्धी रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह लक्षित टिप्पणी गर्दै ओलीले उम्मेदवारी मनोनयनकै दिन दमकबाटै रास्वपाले अवाञ्छित गतिविधि गरेको आरोप लगाएका छन् । ‘सारै उम्लिएको थियो, जित्दैनौं भन्ने परेछ क्यारे, अब त अर्को पार्टीको झन्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने क्रियाकलाप सुरु गरेको छ,’ ओलीले भने ।
कांग्रेसले चुनाव सुरक्षित र निष्पक्ष रूपमा हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ‘निर्वाचन निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्रपूर्वक रूपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार’ भन्दै त्यसको सुनिश्चित गर्न सरकारसँग माग गरे ।
निर्वाचन नजिकिँदै गर्दा सुरक्षा स्थितिमा खलल पुग्न सक्ने भन्दै गृह मन्त्रालयले सुरक्षा व्यवस्थापनमा कडाइ गर्न निर्देशन दिएको छ । आइतबार बसेको सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न र कसुरमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
ads/laxmi-sunrise-6811-0822026113414.jpg
निर्वाचन प्रचारका क्रममा दिइएका उत्तेजक अभिव्यक्तिसहित चुनावी सुरक्षालाई अवरोध गर्ने गतिविधि सह्य नहुने भन्दै गृहले सम्बन्धित पक्षलाई कानुनको दायरा र निर्वाचन आचारसंहिताभित्र रहन आग्रह गरेको छ ।
‘विभिन्न जिल्लामा निर्वाचनविरोधी गतिविधि गर्ने, प्रचारप्रसार कार्यमा राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्याउनेलगायत घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ गृहकी सहप्रवक्ता रमा आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी कार्य कानुनद्वारा बर्जित र दण्डनीय भएकाले त्यस्तो कार्य गर्ने जोकोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कारबाही गरिन्छ ।’