— विराटनगरको पुरानो बस्तीमा उभिएको कोइराला निवास कुनै साधारण घर थिएन । आन्दोलनकारीको मुकाम थियो, रणनीतिको कार्यशाला थियो र प्रजातन्त्रका सपना बुन्ने थलो थियो । त्यही घर गत २४ भदौमा प्रदर्शनकारीको आगजनीमा पर्यो । घर जले पनि त्यसले बोकेको इतिहास मेटिएको छैन ।
विराटनगरको जुट मिलदेखि काठमाडौंको सुन्दरीजल जेलसम्म, दिल्लीका गल्लीदेखि बालुवाटारको शक्तिकेन्द्रसम्म । आधुनिक नेपालको राजनीति कोइराला परिवारबिना अपूर्ण देखिन्छ ।
बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला, तीन दाजुभाइ–तीन प्रधानमन्त्री । कांग्रेस हुर्काउने र बढाउने यो घर प्रजातन्त्रवादीका लागि धामजस्तै थियो । यो घर मात्र होइन, राजनीतिक संस्था नै थियो, जसलाई जोगाउने चुनौतीमा छन्– शेखर कोइराला ।
हुनतः कोइराला परिवारबाट शेखर, बीपी–पुत्र शशांक र गिरिजाप्रसाद–पुत्री सुजाता कोइराला केन्द्रीय राजनीतिमा छन् । विरासतका दृष्टिले शशांक र सुजातालाई जति लाभ शेखरलाई छैन, किनकि उनीहरू बीपी र गिरिजाप्रसाद कोइरालाका सन्तान हुन् तर उनीहरूको सक्रियता शेखरको जस्तो छैन । शशांक र सुजाता त यसपालि संसदीय प्रतिस्पर्धाबाटै बाहिर छन् ।
Shekhar, the lone 'soldier' of the Koirala familyशशांकले २०६४ को संविधानसभादेखि नवलपुरबाट चुनाव जित्दै आएका थिए । यसपालि पनि उनी आकांक्षी थिए । तर विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदलिएपछि उनले टिकट पाएनन् । ०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेकी सुजाता ०७९ मा मोरङ–२ मा प्रतिस्पर्धा गरेकी थिइन् । तर यस पटक कांग्रेसबाट मीनेन्द्र रिजाल उम्मेदवार छन् । त्यसैले कोइराला परिवारको विरासत धान्ने जिम्मा अहिले शेखरको मात्रै काँधमा छ ।
ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
९ भदौ ००७ मा विराटनगरमा जन्मिएका हुन् शेखर, जो अहिले ७५ वर्षका छन् । उनको राजनीतिक उदय कुनै आकस्मिक घटना नभई लामो संक्रमणको प्रतिफल थियो । शेखरको राजनीतिक यात्रा ०२७ मा नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । कांग्रेसको सदस्यता भने ०२८ मा लिएका थिए । तर उनी बीचमा चिकित्सा क्षेत्रमा सक्रिय भए ।
भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स्) बाट एमबीबीएस तथा एमडी गरेका शेखरले नेपाल फर्किएपछि वीर अस्पताल र कोशी अञ्चल अस्पतालमा सेवा गरे । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थापना प्रक्रियामा उनले अग्रणी भूमिका खेले । पछि उपकुलपतिको जिम्मेवारीसमेत पाए ।
संसदीय राजनीतिमा लागेपछि शेखरले धेरै उतारचढाव भोगेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङ–७ मा मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग उनी पराजित भए । दुई क्षेत्र जितेकामा गच्छदारले मोरङ–७ छाडेपछि ०६५ मा भएको उपनिर्वाचनमा शेखर विजयी भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी विजयी भए । त्यसबेला उनै गच्छदारसँग उनको कडा प्रतिस्पर्धा भएको थियो ।
Shekhar, the lone 'soldier' of the Koirala family०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका थिए । ०७९ मा अघिल्लो हारको बदला लिँदै पण्डितलाई हराएर प्रतिनिधिसभा सदस्य भए । आगामी निर्वाचनमा उनी मोरङ–६ बाट उम्मेदवार छन् ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
शेखर पार्टीभित्र सुधारवादी नेताका रूपमा चिनिन्छन् । कांग्रेसको १४औं महाधिवेशनमा उनले सभापतिमा उम्मेदवारी दिएका थिए । तर शेरबहादुर देउवासँग पराजित भए । पार्टीभित्र फरक मत राख्दै जाँदा उनले महाधिवेशनको ७ महिनापछि देउवा नेतृत्वमाथि १२ बुँदे आरोप सार्वजनिक गरे र केही महत्त्वपूर्ण बैठकमा अनुपस्थित रहे, जसले पार्टीभित्रको मतभेदलाई सतहमा ल्यायो । आफ्नै पार्टी नेतृत्वको सरकारप्रति खुलेर आलोचना गर्ने उनी बेला–बेला विवादमा पनि तानिने गरेका छन् । यद्यपि, कोइराला चिकित्सा शिक्षा, लोकतान्त्रिक अभ्यास र शान्ति प्रक्रियाप्रति प्रतिबद्ध नेताका रूपमा चिनिन्छन् ।
‘चिकित्सकको पृष्ठभूमि र राजनीतिक विरासतको संयोजनले उनलाई समकालीन नेपाली राजनीतिमा प्रभावशाली पात्रका रूपमा स्थापित गरेको छ,’ उनीनिकट विराटनगर महानगरका सभापति दीपक चापागाईं भन्छन् ।
शेखर प्रतिस्पर्धामा उत्रिएको मोरङ–२ मै पर्छ, विराटनगर बजार । विराटनगर औद्योगिक सहर त हुँदै हो, सँगै नेपाली राजनीतिको ‘इपिसेन्टर’ पनि हो । वि.सं. ००३ मा विराटनगर जुट मिलबाट सुरु भएको मजदुर आन्दोलनले १०४ वर्षे जहानियाँ राणा शासनको जग हल्लाएको थियो । बीपी कोइरालाको नेतृत्वमा ००७ मा भएको आन्दोलनले नेपाली जनतामा ‘हामी पनि शासक फेर्न सक्छौं’ भन्ने आत्मविश्वास पहिलो पटक भरेको थियो ।
ads/multiple-company-box-d-1022026053655.jpg
विराटनगरको स्थानीय परिवेश सधैं विद्रोही र वैचारिक रह्यो । गुद्री, बरगाछी, महेन्द्र चोक र रोडशेष चोकको हरेक चिया पसलमा हुने राजनीतिक बहसले काठमाडौंको सत्तालाई चुनौती दिने गर्थ्यो । कोइराला परिवारको उपस्थितिले विराटनगरलाई राजनीतिको केन्द्र बनायो । भारतसँगको खुला सिमाना र बढ्दो सहरीकरणका कारण यहाँ राजनीतिक चेतना छिटो फैलियो । फलतः ०३६, ०४२, ०४६ र त्यसपछिका हरेक मोडमा विराटनगर केन्द्रमा रह्यो । आज पनि विराटनगरको धूलोमा क्रान्तिको गन्ध र कोइराला निवासको भित्तामा इतिहासको प्रतिध्वनि सुनिन्छ ।
नेपथ्यका पात्र
कोइराला परिवारको चर्चा गर्दा अक्सर बीपी, मातृका र गिरिजाप्रसादको नाम लिइन्छ । तर, यो साम्राज्य खडा गर्न ‘नेपथ्य’ मा बसेर जीवन अर्पण गर्ने पात्र थिए केशवप्रसाद कोइराला । उनी बीपीका भाइ र शेखरका पिता हुन् ।
बीपी जब–जब जेल परे वा प्रवासमा रहे, तब–तब परिवारको बोझ र विराटनगरको खेतीपातीदेखि सामाजिक सम्बन्धसम्मको जिम्मेवारी केशवप्रसादकै काँधमा हुन्थ्यो । शेखरले कांग्रेसको १४ औं महाधिवेशनपछि एउटा मर्मस्पर्शी प्रसंग सार्वजनिक गरेका थिए । उनले बीपीले सुन्दरीजल जेलबाट आफ्ना पिता केशवप्रसादलाई लेखेका पत्रहरूको चर्चा गरेका थिए । ती पत्रहरूमा बीपीले पारिवारिक कुशलता मात्र सोधेका थिएनन्, बरु एक क्रान्तिकारी नेताले आफ्नो परिवारबाट कस्तो अपेक्षा राख्छ भन्ने पनि स्पष्ट पारेका थिए । बीपीले लेखेका थिए, ‘केशव, म यहाँ कालकोठरीमा देशको भविष्य कोरिरहेको छु, तिमीले घरको चिन्ता नगरिदिनू । तिम्रो यो धैर्य नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।’
ads/laxmi-sunrise-6811-0822026113414.jpg
Shekhar, the lone 'soldier' of the Koirala familyशेखरका अनुसार ती चिठीहरू कोइराला परिवारको राजनीतिक निष्ठाका ‘दस्तावेज’ हुन्, जसले पदभन्दा माथि उठेर देश र विचारका लागि मर्न सिकाउँछ । केशवप्रसादले कहिल्यै सत्ताको आकांक्षा गरेनन्, बरु दाजुहरूको राजनीतिक यात्राका लागि आफू ‘टेको’ बनेर उभिइरहे ।
शेखरले पनि विभिन्न राजनीतिक घटनाक्रममा ‘पर्दापछाडि’ बाट भूमिका निर्वाह गरे । ०६२/६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियामा उनको भूमिका ‘निर्णायक’ बन्यो । तत्कालीन माओवादीको सशस्त्र विद्रोहका क्रममा संवाद र सहमतिको पक्षमा उभिएका शेखरले ७ मंसिर ०६२ मा माओवादी र सात दलबीच भएको १२ बुँदे समझदारीमा ‘पर्दापछाडि’ बाट भूमिका खेलेका थिए ।
त्यतिबेला गिरिजाप्रसादको विश्वासपात्र बनेर उनले तत्कालीन विद्रोही माओवादी र संसद्वादी दलहरूबीच ‘सेतु’ को काम गरे । त्यतिबेला दिल्लीका विभिन्न स्थानमा तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग गोप्य संवाद गर्दा शेखरले आफ्नो ‘मेडिकल’ कार्डलाई रणनीतिक रूपमा प्रयोग गर्थे ।
उनी चिकित्सक भएकाले उनको आवागमनलाई सुरक्षा निकायले खासै शंका गर्दैनथे । तर उनी ‘स्टेथेस्कोप’को आवरणमा देशको राजनीतिक ‘सर्जरी’ गरिरहेका हुन्थे । १२ बुँदे समझदारीको मस्यौदा तयार गर्दा शेखरले भारतीय कर्मचारीतन्त्र र तत्कालीन माओवादी नेतृत्वबीचको असमझदारी हटाउन रातभर संवाद गरेका थिए ।
ads/globalimebank4x3-0822026115544.jpg
ads/vianet-43-0822026115633.png
ads/nepatop-43-0822026114327.jpg
शान्ति प्रक्रियाको समयमा जब माओवादी नेताहरू पहिलो पटक सार्वजनिक हुने तयारीमा थिए, शेखरले नै उनीहरू र राज्य संयन्त्रबीचको अविश्वास हटाउन मध्यस्थता गरेका थिए ।
अबको बाटो
शेखर केही महिनाअघिसम्म पार्टीभित्र ‘संस्थापनइतर’ पक्षको नेतृत्व गर्थे । गत पुसको विशेष महाधिवेशनका बेला उनले रणनीतिक लचकता देखाउँदै संस्थापन समूहसँग सहकार्य गरे । गगनकुमार थापाको नेतृत्वलाई लगभग नकारेका उनी अन्ततः उनै थापाले हस्ताक्षर गरेको टिकट बोकेर मोरङ–६ मा भोट मागिरहेका छन् । विशेष महाधिवेशनपछि उनीसामु दुईवटा प्रश्न उभिएका छन्– पहिलो, अब उनी स्पष्ट रूपमा वैकल्पिक धारको नेतृत्व गर्छन् कि सहमतिमूलक राजनीतिमा फर्किन्छन् ? दोस्रो, कोइरालाको विरासतलाई अबको कांग्रेससँग कसरी जोड्छन् ?
Shekhar, the lone 'soldier' of the Koirala familyबीपी–पुत्र भएकाले शशांकमा ‘सेन्टिमेन्टल’ शक्ति छ । तर उनी तुलनात्मक रूपमा कम सक्रिय र समन्वयकारी भूमिकामा देखिन्छन् । सुजातासँग गिरिजाप्रसादको विरासतबाहेक केही पनि छैन । यी तीनै कोइरालाबीचको एकता वा प्रतिस्पर्धाले कांग्रेसको भविष्य प्रभाव पार्न सक्छ । तर शेखर आफूलाई ‘कोइरालाको छोरा वा भतिजो’ भन्दा पनि ‘परिवर्तनको एजेन्डा बोकेको नेता’ का रूपमा चिनाउन सफल भएका छन् ।
शेखरका लागि अबको बाटो सहज छैन । उनले एकातिर कोइराला परिवारको ‘स्वर्णिम इतिहास’ जोगाउनु छ भने अर्कातिर बदलिँदो राजनीतिक परिवेशमा नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्नु छ । तर, उनी भर्खरै सम्पन्न विशेष महाधिवेशनमा चुकिसकेका छन् ।
‘पार्टीभित्र एकता र प्रभाव, युवापुस्तालाई कांग्रेसतर्फ आकर्षण र राष्ट्रिय राजनीतिमा स्पष्ट दृष्टिकोण उनका अबका चुनौती हुन्,’ विराटनगरका युवा कांग्रेस नेता विष्णु भुर्तेल भन्छन्, ‘शेखरका लागि अबको यात्रा विरासत जोगाउने मात्र होइन, त्यसलाई पुनर्परिभाषित गर्ने पनि हो । इतिहासले उनलाई पहिचान दिएको छ । तर, भविष्य उनी आफैंले कोर्नुपर्नेछ ।’