। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।
२१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका छन् ।
नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र उच्च क्षमताको भौतिक पूर्वाधारसहित एक विशिष्टीकृत ‘सीमा सुरक्षा बल’ का रूपमा परिचालन गर्ने प्रतिबद्धता छ ।
अगाडि भनिएको छ, ‘सीमा नाकाहरूमा नाइट भिजन क्यामेरा, ड्रोन निगरानी र डिजिटल इन्ट्री–एक्जिट रेकर्ड प्रणाली लागु गरी तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई सख्त नियन्त्रण गर्नेछौं ।’
सीमा विवाद र पुराना सन्धि–सम्झौताहरूलाई भावनामा मात्र सीमित नराखी तथ्य र प्रमाणका आधारमा संस्थागत संवादमार्फत् स्थायी रूपमा टुंग्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्ने पनि रास्वपाको प्रतिबद्धता छ ।
विश्वशान्तिको मान्यता, संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राख्दै स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने पनि रास्वपाको प्रतिबद्धता छ ।
सघन आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यमार्फत् व्यापार र प्रत्यक्ष लगानीका अवसरहरूलाई विविधीकरण र व्यापकीकरण गर्न छिमेकभन्दा पर पनि आर्थिक सम्बन्धहरू विस्तार गर्दै नेपालको सौहार्द सौम्य शक्तिको बढ्दो उपयोग गर्ने भनिएको छ । नेपालको साँस्कृतिक पूँजी र फैलँदो प्रवासी समुदाय (डायस्पोरा) केन्द्रित कूटनीतिलाई प्रश्रय दिने वाचा गरिएको छ ।
वाचापत्रमा भनिएको छ, ‘नेपालको ऐतिहासिक विरासत र गौरवमय सभ्यताको जगेर्ना गर्न सह–अस्तित्व, सहिष्णुता, स्वाभिमान र समभावमा आधारित राष्ट्रिय एकता सहितको देशभक्तिको प्रवर्द्धन गर्नु हाम्रो लक्ष्य हो ।’
नेपालको भौगोलिक अखण्डता, स्वाधीनता र जनतामानिहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी पार्टीले कहिल्यै केही नगर्ने प्रण गरिएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिंदो वैश्विक भू–राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्ने भनिएको छ ।
‘छिमेकी मुलुकहरूको रणनीतिक चासो र वैश्विक शक्ति सन्तुलनमा आएको बदलावलाई मध्यनजर गर्दै नेपाललाई ‘बफर स्टेट’ बाट ’भाइब्रेन्ट ब्रिज’को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गर्ने प्रयास गर्नेछौं’ वाचापत्रमा उल्लेख छ ।
गत दशकमा भारतले उल्लेखनीय प्रगति गरेका क्षेत्रहरूबाट नेपालले पनि लाभ लिनसक्ने गरी विकास साझेदारीको स्वरूपलाई नवीकरण गर्ने भनिएको छ । डिजिटल पब्लिक पूर्वाधार; उच्च गतिमा बनेका गुणस्तरीय भौतिक पूर्वाधार; अर्थतन्त्रको औपचारिकीकरण; उत्पादनमूलक उद्योग र सेवा क्षेत्रबीचको सामञ्जस्य र समग्र राज्य सक्षमताको वृद्धि आदिमा भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिन सक्ने रास्वपाको विवास छ ।
त्यस्तै, चीनसँग सहुलियतपूर्ण वित्तको परिचालनमार्फत् विश्वस्तरीय पूर्वाधार निर्माण, आर्थिक–सामाजिक विकासका लागि राज्य–निर्देशित लक्ष्य र कार्यक्रम; अन्तरप्रादेशिक प्रतिस्पर्धाका अनुकरणीय विषयहरूलाई साझेदारीका पाटा बनाउने रास्वपाको प्रतिवद्धता छ ।