। २० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो ।
उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो घरबाट २२ वर्षीय इन्तजार भनिने मोहम्मद अरबी खाँ हराएका थिए । राति ११ बजेतिर उनलाई अपरिचित व्यक्तिले बेपत्ता बनाएका थिए ।
भोलिपल्ट बिहान साढे ९ बजेतिर उनको घरदेखि करिब ५०० मिटर दक्षिणतर्फको गंगापूर्वादेखि तेलियनपुर जाने कच्ची सडकको बाटोमा अरबीको शव भेटिएको थियो ।
घाँटी रेटेर काटिएको अवस्थामा उनको शव फेला परेको थियो भने पेटमा कुनै धारिलो वस्तु रोपेको भेटिएको थियो । बीभत्स अवस्थामा शव भेटिएपछि स्थानीय प्रहरी, जिल्ला प्रहरीदेखि प्रदेशको प्रहरीले समेत घटनाको अनुसन्धान गरेका थिए ।
तर अभियुक्तको पहिचान हुन सकेको थिएन । त्यसपछि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि अनुसन्धानका लागि बाँके पुगेको थियो । विभिन्न प्राविधिक कोणबाट सीआईबीले अनुसन्धान गरे पनि अभियुक्त पहिचान गरेर पक्राउ गर्न सकेको थिएन ।
घटनाको करिब २ वर्षपछि अहिले यो हत्याका अभियुक्त पठानलाई पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।
नेपाल–भारतको सीमा क्षेत्रमा लुकिछिपि बसेका उनी निर्वाचनको मौकामा नेपाल छिर्दै गर्दा पक्राउ परेको भनेर प्रहरीले औपचारिक रुपमा बताएको छ । यद्यपि उनी भारतबाट पक्राउ परेका हुन् ।
व्यक्तिगत रिसईबीका कारण उनले अरबी खाँको हत्या गरेको प्रहरीले अधिकारीहरूले बताएका छन् । तर त्यो कस्तो प्रकारको रिसईबीको हो भन्नेबारे पूर्ण अनुसन्धान भएपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।
भारतबाट पक्राउ गरेर ल्याएका पठानविरुद्ध जिल्ला अदालत बाँकेबाट कर्तव्य ज्यान मुद्दाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी जिसीले बताए ।
२ हत्याका फरार अभियुक्त
अरबी खाँ हत्यामा पक्राउ परेका पठानमाथि अनुसन्धान गर्दा यसअघि दुई व्यक्ति हत्यामा फरार रहेको पनि देखिएको छ ।
बाँकेमै यसअघि १७ असार २०६१ मा हफिजुल्ला खाँको हत्या भएको थियो । यो हत्यामा पनि उनी जोडिएको देखिएको प्रहरीले बताएको छ । यो हत्याको मुद्दा अदालतमा दर्ता भइसकेको छ । जसमा पठानलाई फरार प्रतिवादी बनाइएको पाइएको छ ।
यसबाहेक ११ भदौ २०६२ मा बाँकेमै रियाज खाँको पनि हत्या भएको थियो । यो हत्यामा पनि पठानविरुद्ध किटानी जाहेरी परेको खुलेको छ । यसको अनुसन्धान भने अझै टुंगिएको छैन ।
प्रहरी अब यी दुवै घटनामा पठानमाथि अनुसन्धान अघि बढाउने भएको छ ।