मुख्य समाचार
निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास
निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास

। सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास गरिएको छ ।

निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाको सदरमुकाम खलङ्गास्थित लुहापिङमा उक्त अभ्यास सम्पन्न गरिएको हो ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा सम्पन्न अभ्यासमा सुरक्षा निकायहरूले प्रत्यक्ष अभ्यासमार्फत आ-आफ्नो भूमिका प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेपाल सेनाअन्तर्गतको सिद्धबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको सक्रिय सहभागिता रहेको थियो ।

संयुक्त अभ्यासमार्फत मतदान केन्द्रमा हुन सक्ने सम्भावित जोखिम, विवाद तथा भीड व्यवस्थापनका उपायहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो ।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलमा विवाद उत्पन्न हुँदा संयमित ढंगले भीड नियन्त्रण गर्ने, संवादमार्फत समस्या समाधान गर्ने, आवश्यक परे न्यूनतम बल प्रयोग गर्ने तथा मतदान प्रक्रिया अवरुद्ध हुन नदिने रणनीति देखाएका थिए ।

त्यसैगरी सशस्त्र प्रहरी बल र नेपाली सेनाले मतदान केन्द्रभित्र हुलदंगा हुन नदिन अपनाइने सुरक्षा घेरा, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक अवस्थाको तत्काल प्रतिकारसम्बन्धी अभ्यास प्रस्तुत गरेका थिए ।

मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्यालाई व्यवहारिक ज्ञानमार्फत समाधान गर्न सहज होस् भन्ने उद्देश्यले अभ्यास गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसीले जानकारी दिए ।

नमूना मतदान अभ्यासमा सहभागी निर्वाचन प्रहरीलाई महिला, पुरुष, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सुत्केरीप्रति गर्नुपर्ने व्यवहारका विषयमा समेत व्यवहारिक ज्ञान दिइएको उनले बताए ।

त्यस्तै, सदरमुकाम खलङ्गास्थित लुहापिङमा आयोजना गरिएको कार्यक्रममा नमूना मतदानसमेत गरिएको थियो । महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनमा राखेर गरिएको नमूना मतदानमा १५ जना महिला र १५ जना पुरुष गरी कुल ३० जनाले मतदान गरेका थिए ।

मतदानमा सहभागीप्रति गरिनुपर्ने व्यवहार तथा सुरक्षामा खटिंदा जान्नुपर्ने विषयलाई प्रभावकारी बनाउन नमुना मतदान अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले बताए ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा एक हजार ७ सयभन्दा बढी निर्वाचन प्रहरी र ७ सयभन्दा बढी जनपद प्रहरी खटाइने छ । यसका साथै सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि निर्वाचन सुरक्षामा भूमिका निर्वाह गर्ने छन् ।

जिल्लाभर कुल ११७ मतदानस्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ४३ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन् । भौगोलिक विकटता, सम्भावित सुरक्षा चुनौती तथा विगतका निर्वाचन अनुभवका आधारमा ती स्थललाई अतिसंवेदनशील वर्गमा राखिएको हो ।

जिल्लाका १७ वटा मतदानस्थल मात्र सामान्य श्रेणीमा पर्दा बाँकी अधिकांश स्थल संवेदनशील तथा अतिसंवेदनशील सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ छन् । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
। २० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो । उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो ...
। निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ । सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो । उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली निकालेका हुन् । उनीहरूले प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । माइतीघर मण्डलाबाट सुरु भएको ...
यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा आइपुगेको छ