मुख्य समाचार
‘निर्वाचन क्षेत्रमा कसैले शक्तिको दुरुपयोग नगरोस्’
‘निर्वाचन क्षेत्रमा कसैले शक्तिको दुरुपयोग नगरोस्’

सर्लाही–४ यतिबेला राष्ट्रिय चासोको निर्वाचन क्षेत्र बनेको छ। तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भएका गगन थापा मधेस झरेपछि यहाँको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ। यहाँ रास्वपाका अमरेशकुमार सिंह उम्मेदवार छन्। जसपाका रामेश्वर राय यादव र एमालेका अमनिशकुमार यादव पनि प्रतिस्पर्धामा छन्। मतदाताको घरदैलोमा पुगिरहेका कांग्रेस सभापति थापासँग सर्लाहीको भवानीपुरको बस्तीमा अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

काठमाडौँमा तीन पटक चुनाव लडेर अहिले सर्लाही झर्नुभएको छ। चुनावी अभियानको हिसाबले काठमाडौँ र यहाँको चुनावमा के फरक पाउनुभयो?

मेरो लागि यहाँ मुख्य गरी भाषाका कारणले अलि फरक अनुभूति छ। मुद्दैको कुरा गर्ने हो भने यहाँ विकास निर्माणका असाध्यै धेरै कामहरू बाँकी छन्। स्थानीय मतदाताहरू ती मुद्दामा आफ्नो सांसदसँग स्पष्ट जवाफदेहिता चाहन्छन्।




काठमाडौँमा चाहिँ यी धेरैजसो कुराहरू एकप्रकारले सम्बोधन भइसकेका छन् वा स्थानीय सरकारले गरिरहेको छ। त्यसैले त्यहाँ राष्ट्रिय राजनीतिमा बढी चासो देखिन्छ। तर यहाँ, जस्तो म भर्खरै जहाँ थिएँ, त्यहाँ उखु किसानले मूल्य नपाएको र बारीमै उखु सुक्न थालेको पीडा छ। यहाँका यस्ता दैनिक समस्याहरू नै आम चुनावका मुख्य एजेन्डा बनेर आउने रहेछन्, जुन काठमाडौँमा हुँदैनथ्यो।

तपाईं सभापति हुनुहुन्छ, राष्ट्रिय नेता हुनुहुन्छ। यसअघि काठमाडौँमा बस्दा यहाँका समस्याहरू संसद्‌मा पढ्नुहुन्थ्यो वा कहिलेकाहीँ घुम्न आउँदा देख्नुहुन्थ्यो। अहिले यहीँको अव्यवस्थित बस्ती र जनजीवनमा आफैँ भिज्दा चाहिँ कस्तो फरक महसुस गरिरहनुभएको छ?




म धेरै घुमिरहने मान्छे हुँ। गएको वर्ष मात्र पनि मैले हुलाकी राजमार्ग हुँदै पूर्व–पश्चिम यात्रा गरेँ। त्यतिबेला धेरै गाउँहरू पुगेँ, संवादहरू पनि गरेँ। तर, अहिले आफैँ उम्मेदवार बनेर म यी समस्या हल गर्ने जिम्मेवारी लिन्छु भन्दै आउँदा हेर्ने दृष्टिकोण नै पूरै फरक हुँदो रहेछ। पहिले बाहिरबाट देखिने समस्या र अहिले भुइँतहमा बसेर बुझ्दाको गहिराइमा निकै भिन्नता छ।



पहिला बाहिरबाट विद्यालयमा समस्या छ भन्दा एउटा धारणा हुन्थ्यो, अब यहाँ आएपछि ठ्याक्कै कस्तो समस्या छ र त्यसको समाधान के हुन सक्छ भनेर गहिराइमा पुगेर खोज्नुपर्ने भएको छ। किसानको समस्या होस् वा उत्पादनको मूल्य— सबै कुरालाई अब आफैँले भित्रैबाट बुझ्ने मौका पाएको छु। मेरो एउटा इच्छा थियो कि पहाड र सहरका मुद्दाहरू त मैले बुझेकै छु, मधेसका मुद्दाहरूलाई पनि अझ गहिराइमा गएर बुझूँ। अहिले यो निर्वाचनको प्रक्रियाले मलाई त्यो यथार्थ धरातलसम्म पुग्ने अवसर दिएको छ।

हाम्रो राजनीतिमा कहिलेकाहीँ पहिचान वा अनुहार हेरेर पनि भोटको राजनीति हुन्छ। तपाईं काठमाडौँबाट यहाँ आउनुभएको छ, यहाँका मधेसी जनताले तपाईंलाई कांग्रेसको सभापतिको रूपमा भन्दा पनि एक उम्मेदवारको रूपमा कसरी हेरिरहनुभएको छ?

म जति पनि साथीहरूलाई भेटिरहेको छु, उहाँहरूबाट एकदम न्यानो स्वागत पाएको छु। काठमाडौँबाट हाम्रो ठाउँको जिम्मेवारी लिन मान्छे आउनुभएको छ भन्ने कुरालाई उहाँहरूले सकारात्मक रूपमै लिनुभएको छ।



मलाई अप्ठ्यारो चाहिँ कहाँ भइरहेको छ भने, यहाँको सांस्कृतिक परिवेशमा महिलाहरूसँग संवाद गर्ने कुरामा अलि धेरै सजग हुनुपर्ने अवस्था छ। मलाई उहाँहरूसँग बसेर उहाँका कुरा सुन्न, आफ्ना योजनाहरू सुनाउन मन छ, तर त्यो सांस्कृतिक र भाषिक सीमाका कारण सुरुमा अलि अप्ठ्यारो महसुस भएको थियो। तर, समग्रमा यहाँका जनताले मलाई जुन रूपमा स्वीकार गर्नुभएको छ, त्यो निकै उत्साहजनक छ।

तपाईंले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेर, बहसहरूमा पनि सामेल भएर, अब यहाँ सर्लाहीमा सक्रिय हुनुहुन्छ। तपाईंको प्रतिज्ञापत्रले यहाँ नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याउने सोच्नुभएको छ?

हाम्रो प्रतिज्ञापत्रको केन्द्रमा ‘नागरिक’ हुनुहुन्छ। हामी जहाँ हिँडिरहेका छौँ, यो स्थानीय सरकारले बनाएको बाटो हो। बाटोको आफ्नै महत्त्व छ, तर त्यो बाटोले मात्र नागरिकको जीवनमा तात्त्विक भिन्नता ल्याउँदैन। बाटो त साधन मात्र हो, साध्य त नागरिकको गुणस्तरीय स्वास्थ्य र शिक्षा हुनुपर्थ्यो। यदि उनीहरूले गुणस्तरीय शिक्षा पाएको भए, आज उनीहरू कहाँ पुगिसक्थे होलान्?

हाम्रो प्रतिज्ञापत्रको सम्पूर्ण अवधारणा ‘समुन्नति’ मा आधारित छ, र त्यो समुन्नतिको केन्द्रमा नागरिक छन्। यस बस्तीमा बसेका नागरिकलाई हामी यो पाँच वर्षभित्र यस्तो अवस्थामा पुर्‍याउन चाहन्छौँ, जसले गर्दा उनीहरू पनि नेपाली मध्यम वर्गले जस्तै सम्पत्ति सिर्जना गर्न सकून्। कम्तीमा पनि उनीहरूले मध्यम वर्गमा उक्लिनका लागि एउटा बलियो आधार पाऊन्। हाम्रो प्राथमिकता भनेकै निम्न–मध्यम वर्गलाई त्यो ‘खुट्टा टेक्ने ठाउँ’ दिनु हो, जसले उनीहरूलाई मध्यम वर्गको सिँढी उक्लिन मद्दत गरोस्। चुनाव प्रचारको अन्तिम चरणमा हामी यही मुद्दा लिएर जनतामाझ छौँ।



सर्लाहीको विगतको चुनावी इतिहास हेर्दा यहाँ सुरक्षाको विषयलाई लिएर सधैँ आशङ्का र चिन्ता गर्ने गरिन्छ। अहिले पनि धेरैले चुनावी सुरक्षाबारे चासो व्यक्त गरिरहेका छन्। तपाईं यसलाई कसरी हेर्नुहुन्छ?

म काठमाडौँबाट यता आउँदै गर्दा पनि साथीहरूले सुरक्षामा एकदम ध्यान दिनुपर्छ भनिरहनुभएको थियो। यहाँ आइसकेपछि पनि धेरैले यही सुझाव दिनुहुन्छ। तर, मलाई व्यक्तिगत रूपमा चाहिँ परिस्थिति एकदम सामान्य लागिरहेको छ। सायद मैले सुरक्षा चुनौतीलाई कम आँकेको पनि हुन सक्छ, तर मलाई यहाँ घुलमिल हुन वा हिँडडुल गर्न कुनै अप्ठ्यारो महसुस भएको छैन।

तपाईं त पार्टीको सभापति पनि हुनुहुन्छ। देशभरि चुनावी अभियान र सभाहरू भइरहेका छन्। निर्वाचन आयोग र सरकारलाई चुनावी सुरक्षा र निष्पक्षताका लागि तपाईंको केही सुझाव छ?

पहिलो कुरा, सरकार ‘नागरिक सरकार’ भएकाले यो तटस्थ हुनुपर्छ र तटस्थ देखिनु पनि पर्छ। केही समयअघिसम्म सरकारकै तर्फबाट पुरानो पार्टीलाई मत नदिनुस्, परिवर्तनको पक्षमा दिनुस् भन्ने खालका अभिव्यक्तिहरू आएका थिए।

राजनीतिक दलको सरकार हुँदा त्यस्ता कुरा स्वाभाविक सुनिएलान्, तर जब सरकारले ‘म चुनाव गराउन आएको हुँ’ भन्छ, तब उसले पूर्णतः तटस्थ भूमिका निर्वाह गर्नुपर्छ। यस्ता अभिव्यक्तिले राज्यको संयन्त्रप्रति नागरिकको विश्वास डगमगाउन सक्छ। यद्यपि, पछिल्लो समय उहाँहरूले यसमा सुधार गर्नुभएको छ। चुनावलाई धाँधलीरहित र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले राज्यको शक्ति कतै ढल्किन नदिने कुरामा विशेष ध्यान दिनुपर्छ।

विशेष गरी मेरो निर्वाचन क्षेत्रका धेरै मतदान केन्द्रहरू सुरक्षाको दृष्टिकोणले ‘अति संवेदनशील’ मानिएका छन्। यसअघिको ट्र्याक रेकर्ड हेर्दा पनि यहाँ केही अप्रिय घटनाहरू भएका इतिहास छन्। त्यसैले, विगतका ती गल्तीहरू यसपटक नदोहोरिऊन् भन्नेमा सरकारले विशेष ध्यान दिनुपर्छ। हामीलाई कुनै अतिरिक्त सुरक्षा वा सुविधा चाहिँदैन, तर हरेक मतदान केन्द्र सुरक्षित होस् र कसैले पनि शक्तिको दुरुपयोग गर्न नपाओस् भन्ने हाम्रो माग हो। निर्वाचन आयोग र सरकारले यसमा थप सतर्कता अपनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाले धनी बनाउने नभई संकल्पले बन्ने बताएका छन् । शनिबार निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’ अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी ...
। सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन् । श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए । ‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो,’ ओलीले भने, ...
। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् । त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री ...