मुख्य समाचार
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले आर्थिक, सामाजिक एवं मानसिक तनाव भोग्ने क्रम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले आर्थिक, सामाजिक एवं मानसिक तनाव भोग्ने क्रम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त

। बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले आर्थिक, सामाजिक एवं मानसिक तनाव भोग्ने क्रम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले बेलायत अहिले आफैं ‘रिसेसन’मा रहंदा पर्याप्त रोजगारी अभाव, जागिर पाइएपनि विद्यार्थीले पार्टटाइम काम गरेर विश्वविद्यालयको महँगो शुल्क तिर्न असमर्थ हुने र शुल्क एवं ‘असाइमेन्ट’ समयसीमाभित्र नगरे विश्वविद्यालयले भिजा रद्द गरिदिन सक्ने भएकाले विद्यार्थीलाई धेरै चुनौति थपिएको औंल्याए ।

बेलायतस्थित संस्था ब्रिज नेपालले २१ फेब्रुअरी शनिबार आयोजना गरेको एक वेबिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो आर्थिक अवस्था मजवुत नभए अण्डरग्रयाजुएट पढ्न नआउन सुझाव दिए ।

वेबिनारमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले खासगरि अण्डर ग्रयाजुएट अध्ययन गर्न यूके आएका विद्यार्थीले जागिरबाहेक विश्वविद्यालयमै पनि धेरै समस्या भोग्नुपरेको बताए ।

अध्ययन उद्देश्यले आएपछि विद्यार्थीले समेत आफ्नो पढाइप्रति गम्भीर हुन आवश्यक रहेको औंल्याउंदै दुवाडीले कतिपय विश्वविद्यालयहरुले नेपाली विद्यार्थीलाई अनावश्यक दुःख दिएपछि उनीहरुका लागि ‘एनओसी’ निलम्बन गर्न सरकारले कदम चालेको बताए ।

बेलायतमा जागिर अभाव हुंदा विद्यार्थीहरुले आर्थिक, मानसिक तनाव झेल्नु परेका धेरै उदाहरण आफूहरुसँग रहेको जनाउँदै कार्यवाहक राजदूत दुवाडीले शैक्षिक परामर्शदाता कम्पनीहरुलाई नेपालमा वास्तविकताको सट्टा मिठो सपना नबांड्न आग्रह गरे । दूतावासले विद्यार्थीका समस्या समाधानमा निरन्तर काम गरिरहेको बताउंदै अध्ययन सम्बन्धि केही समस्या भए जानकारी दिन पनि उनले अनुरोध गरे ।

यसअघि दूतावासले पनि सबै सरोकारवालाहरुलाई बोलाएर नेपाली विद्यार्थीका समस्या तथा समाधानका उपायबारे अन्तरक्रिया गरेको स्मरण पनि उनले गरेका थिए ।

बेलायतस्थित विश्वविद्यालयहरुका नेपाली विद्यार्थी सोसाइटीको छाता संगठन मर्जिङ नेपसक्सका अध्यक्ष पवन कंडेलले पछिल्लो समय नेपाली विद्यार्थीहरुको आगमन संख्यामा उल्लेख्य वृद्धि र यहां सृजित समस्याबारे बताए ।

कंडेलले विद्यार्थीलाई घर भाडा, जागिरदेखि विश्वविद्यालय कम्प्लाइन्ससम्म सास्ती भोग्नुपरेको बताए । कयौं विद्यार्थीले विश्वविद्यालय शुल्क समयमै नतिर्नेमात्र होइन्, असाइन्मेन्ट अरुलाई लेख्न लगाउने, अरुबाट हुबहु सार्ने (प्लेजरिजम) र नियमित हाजिरी नगरेका कारण पनि निष्कासनमा पर्ने गरेको बताए ।

बिज एडुकेशन यूकेका निर्देशक हरि कार्कीले ऋण लिएर आफ्ना सन्तानलाई अण्डरग्रयाजुएट पढ्न बेलायत नपठाउन आग्रह गरे । मानसिक तनावका कारण कयौं विद्यार्थीले अकालमै मृत्युवरण गर्न थालेका प्रसंग उल्लेख गर्दै कार्कीले एकजना विद्यार्थी मर्दा उसको परिवार नै मर्ने बताए ।

विश्वविद्यालयहरुले नेपाली विद्यार्थीलाई अनावश्यक दुःख दिएको सन्दर्भमा नेपाली दूतावासको कदम प्रशंसनीय भन्दै उनले नेपालबाट कन्सल्टेन्सीहरुलाई भ्रमको खेती नगर्न पनि आग्रह गरे ।

एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले नेपाली विद्यार्थीको विभिन्न तथ्यांक प्रस्तुत गर्दै ब्रिटिश अध्यागमन कानूनले अन्तरराष्ट्रिय विद्यार्थीहरुमा परेको असरबारे जानकारी दिए ।

पछिल्लो समय पढ्न छाडेर विद्यार्थीहरु ‘असाइलम क्लेम’ गर्ने प्रवृत्ति बढेकोप्रति चासो व्यक्त गर्दै सोलिसिटर थापाले त्यो रुटबाट विद्यार्थीले कुनै उपलब्धि हासिल गर्न नसक्ने भएकाले त्यता जांदै नजान सुझाए ।

विभिन्न सहभागीको जिज्ञासा मेटाउंदै थापाले परिवर्तित अध्यागमन नियमका जटिलता र विद्यार्थीलाई परेका प्रभावबारे प्रष्ट पारेका थिए । बेलायतको अध्यागमन नियम उल्लंघन गरे वा ओभरस्टे भए १० वर्षसम्म यहां आउन बन्देज हुनेतर्फ पनि सोलिसिटर थापाले सचेत गराए ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले बेलायत आएका विद्यार्थीलाई समुदायबाट पनि पर्याप्त सचेतना र साथ खाँचो रहेको औंल्याए ।

वरिष्ठ पत्रकार भगीरथ योगीले सञ्चालन गरेको उक्त कार्यक्रममा ब्रिज नेपालका निर्देशक डा जगन कार्कीले बेविनारको उद्देश्यबारे प्रकाश पार्दै वक्ताहरु र सहभागीलाई स्वागत गरेका थिए ।

कार्कीले नेपाली विद्यार्थीहरुले पर्याप्त जानकारी बिना ब्रिटिश विश्वविद्यालयहरुमा भर्ना हुने, ट्युशन फी, खाने बस्ने खर्चको समयमै जोहो गर्न नसक्ने, काम तथा डेराको समस्या र अध्यागमन सम्बन्धी नियमहरुबारे जानकारी अभाव सम्बन्धमा छलफल गर्न कार्यक्रम गरिएको प्रष्टयाए ।

नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ। पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका छन् भने सन् २०२५ मा मात्रै २० हजार बढी नेपाली विद्यार्थी बेलायत आएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...
। कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना ...