— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सपन्न भएर मुलुकमा शान्ति, स्थिरता र सुशासन कायमको कामना गरेकी छन् ।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरमा रहेको आगन्तुक पुस्तिकामा आफ्ना भावना राख्दै शान्तिको मुहान लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी भएको उल्लेख गरेकी छन् ।
सेनाको हेलिकप्टरबाट शनिबार यहाँ आएकी उनले मायादेवी मन्दिरभित्र भिक्षुणीहरुसँग पञ्चशील पाठ र बुद्ध बन्दना गरेकी थिइन् । त्यसपछि अशोक स्तम्भमा दीप प्रज्जवलन गरेकी थिइन् । त्यसअघि उनले लुम्बिनी म्यूजियम, रोयल थाई मोनाष्ट्री, विश्व शान्ति स्तुप र बज्रयान विहार अवलोकन गरेकी थिइन् ।साढे १० बजे आएकी उनी दिउँसो २ बजे राजधानीका लागि उडेकी थिइन् ।
लुम्बिनी ऐतिहासिक, पुरातात्विक महत्त्व, उत्खनन र संरक्षणका प्रयास तथा लुम्बिनी विकास गुरुयोजनाबारे प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ र वरिष्ठ निर्देशक ज्ञानीन राईले जानकारी दिएका थिए ।
त्यसअघि शनिबार बिहान प्रधानमन्त्री कार्कीले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सबै सुरक्षा निकाय प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएकी थिइन् ।