: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एआई मानव केन्द्रित र धनी–गरिब सबैका लागि हुनुपर्ने बताएका छन्। नयाँ दिल्लीमा बिहीबार एआई इम्प्याक्ट समिटको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले एआई प्रविधिलाई देशका सबै नागरिकसम्म लोकतान्त्रिक रूपमा पहुँचयोग्य बनाउनुपर्ने बताएका हुन्।
‘म तपाईंहरु सबैलाई विश्वकै ऐतिहासिक एआई समिटमा स्वागत गर्छु। भारत विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रतिभाको केन्द्र हो। ग्लोबल साउथका लागि यो समिट गर्वको विषय पनि हो। जब पहिलो पटक वायरलेसको विकास भयो, त्यसबेला सिंगो विश्व रियल टाइममा जोडिने कल्पना पनि गरिएको थिएन। एआई मानव इतिहासको यस्तै रूपान्तरणकारी परिवर्तन हो। आज हामीले जे देखिरहेका छौं र जे पूर्वानुमान गरिरहेका छौं, त्यो यसको प्रभावको सुरुवात मात्र हो,’ प्रधानमन्त्री मोदीले भने।
उनले भारत एआईलाई मानव हितमा प्रयोग गर्ने पक्षमा रहेको बताए। ‘सर्वजन हिताय, सर्वजन सुखाय’लाई समिटको मूल विषय बनाइएको मोदीको भनाइ छ। ‘एआई सबैका लागि लोकतान्त्रिक बनाउनुपर्छ, विशेषगरी ग्लोबल साउथका लागि। एआईले मेसिनलाई मात्र बुद्धिमान बनाएको छैन, यसले मानव क्षमतामा धेरै गुणा वृद्धि पनि गरेको छ,’ उनले भने। उनले एआई प्रभावको दायरा अकल्पनीय रहेको बताए। ‘पहिले प्रविधिको प्रभाव देखिन दशकौं लाग्थ्यो, आज ‘मेसिन लर्निङ’बाट ‘लर्निङ मेसिन’सम्मको यात्रा अझ छिटो, गहिरो र व्यापक भएको छ,’ मोदीले भने।
उनले एआईलाई सार्वभौम रूपमा प्रयोग गरी सशक्त राष्ट्र निर्माण गर्न सकिने बताए। ‘हामीसँग ठूलो दृष्टि र उत्तिकै ठूलो जिम्मेवारी हुनुपर्छ। वर्तमान पुस्तासँगै भावी पुस्तालाई कस्तो प्रकारको एआई हस्तान्तरण गर्ने भन्ने विषयमा पनि सोच्नुपर्छ। आजको वास्तविक प्रश्न भविष्यमा एआईले के गर्न सक्छ भन्ने होइन, बरु वर्तमानमा हामी एआईसँग के गर्छौं भन्ने हो। यस्ता प्रश्न मानव इतिहासमा पहिले पनि आएका छन्,’ उनले भने।
null
त्यसको सबैभन्दा शक्तिशाली उदाहरण आणविक ऊर्जा रहेको प्रधानमन्त्री मोदीको भनाइ छ। ‘हामीले यसको विनाशकारी रूप पनि देखेका छौं र सकारात्मक योगदान पनि,’ उनले भने। प्रधानमन्त्री मोदीले एआईलाई मानव केन्द्रित बनाउनुपर्ने बताए। एआई एक रूपान्तरणकारी शक्ति रहेको बताउँदै उनले दिशाहीन बनाइए यसले अव्यवस्था पनि निम्त्याउन सक्ने संकेत गरे। त्यसैले एआईलाई सही दिशामा लैजानुपर्ने उनको भनाइ छ। ‘मेसिन केन्द्रित एआईलाई कसरी मानव केन्द्रित बनाउने, कसरी यसलाई संवेदनशील र उत्तरदायी बनाउने ? ग्लोबल एआई इम्प्याक्ट समिटको मूल उद्देश्य नै यही हो,’ उनले भने।
एआई प्रयोगबारे मोदीको तीन बुँदे प्रस्ताव
प्रधानमन्त्री मोदीले एआईको नैतिक प्रयोगका लागि विश्वसामु तीन बुँदे प्रस्ताव पेशसमेत गरे। उनले स्पष्ट मानव मूल्य र मार्गदर्शन बिना यो प्रविधि आत्मविनाशकारी बन्नसक्ने चेतावनी दिए। लिडर्स प्लेनरी सत्रलाई सम्बोधन गर्दै उनले एआईलाई अर्थपूर्ण वैश्विक प्रभाव पार्न मानव विश्वास र स्पष्ट दिशा निर्देशन आवश्यक हुने बताए। भारत जिम्मेवार र मानव केन्द्रित एआई प्रणाली निर्माणमा प्रतिबद्ध रहेको उनले दोहोर्याएका थिए।
प्रधानमन्त्री मोदीले एआईको उत्कृष्टता र नैतिक प्रयोगका लागि तीन बुँदे प्रस्ताव प्रस्तुत गरे। पहिलो, एआई प्रशिक्षणका लागि डेटा सार्वभौमिकताको सम्मान गर्दै विश्वसनीय डेटा ढाँचा विकास गरिनुपर्ने, दोस्रो, एआई विकासमा प्रचलित ‘ब्ल्याक बक्स’ एल्गोरिदम संस्कृतिको अन्त्य गर्नुपर्ने र तेस्रो, नैतिक दिशा निर्देशन बिना प्रविधि खतरनाक हुने भन्दै त्यसका लागि सावधानी अपनाउनुपर्ने।
‘यदि मेसिनलाई कागजका क्लिपमात्र बनाउन लक्ष्य दिइयो भने, उसले विश्वका सबै स्रोत साधन नै समाप्त हुने गरी त्यो काम गरिरहन्छ। त्यसैले एआईको मूल प्रोग्रामिङमै स्पष्ट मानव मूल्य र मार्गदर्शन समावेश हुनुपर्छ,’ उनले भने। प्राविधिक प्रगतिलाई मानव नैतिकतासँग जोडेर भारत नवप्रवर्तनशील र सुरक्षित डिजिटल पारिस्थितिकी निर्माणमा विश्वको नेतृत्व गर्न चाहेको उनको भनाइ छ।
null
‘इतिहास हेर्दा मानव जातिले हरेक अवरोधलाई अवसरमा रूपान्तरण गरेको छ। आज हामी फेरि त्यस्तै मोडमा छौं। यो अवरोधलाई मानवताकै सबैभन्दा ठूलो अवसरमा रूपान्तरण गर्नुपर्छ,’ उनले भने। त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले एआईको भविष्य ‘प्रविधि र मानवता’सँगै जोड्नुपर्ने बताए। भारतले डिजिटल प्रविधिमा गरेको प्रगतिको प्रशंसा गर्दै उनले एआई केवल ठूलो कम्पनीहरूका लागि मात्र नभएर मानवता र जिम्मेवार नवीनतालाई सँगै अघि बढ्नेहरूका लागि पनि हुनुपर्ने बताए।
फ्रान्स र भारतले संयुक्तरूपमा यसलाई अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए। राष्ट्रपति म्याक्रोनले एआई स्वास्थ्य, ऊर्जा, कृषि तथा सार्वजनिक सेवामा मानवतालाई अझ छिटो र प्रभावकारी रूपमा विकसित गर्न मद्दत गर्ने एउटा साधन बन्नुपर्नेमा जोड दिएका थिए।
उनले मुम्बईको एउटा उदाहरण दिँदै भने, ’१० वर्षअघि बैंक खाता खोल्न नसक्ने त्यो विक्रेता आज फोनमार्फत भुक्तानी स्वीकार गर्न सक्षम छ। यसले डिजिटल टेक्नोलोजीले मानिसको जीवनमा कसरी सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने स्पष्ट देखाउँछ।’
त्यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एआई सबैका लागि हुनुपर्ने बताए। ‘एआईको भविष्य केही चुनिएका देशहरूले मात्र तय गर्न सक्दैनन्, यसलाई केही अरबपतिहरूको मर्जीमा पनि छोड्न मिल्दैन,’ उनले भने। एआईले सामाजिक असमानता बढाउन, पूर्वाग्रहलाई सुदृढ बनाउन र हानिकारक परिणाम ल्याउनसक्ने भन्दै सबैलाई ध्यानाकर्षण गराए। एआईले समाज, अर्थतन्त्र र शासन संरचनाहरूलाई तीव्र गतिमा परिवर्तन गरिरहेको बताउँदै यसले समावेशी तथा समान अवसरका साथ सबैका लागि उपलब्ध हुनुपर्ने बताए।
null
एआई हाम्रो जीवनकै सबैभन्दा ठूलो ‘प्लेटफर्म’ हो : पिचाइ
गुगलका सिइओ सुन्दर पिचाईले एआईबाट सबैले जिम्मेवार र समावेशी तरिकाले फाइदा लिनुपर्ने बताए। उनले भारतमा गुगलले एआई हबका रूपमा विकास गर्न खोजेको र र त्यसका लागि १५ अर्ब डलर लगानी गरेको बताए। यसको विकासपछि भारतमा एआई प्रविधिको नयाँ आयाम सुरू हुने उनले विश्वास दिलाए।
‘एआईलाई विश्वव्यापी साझेदारी, दिगो विकास र सबैका लागि पहुँचयोग्य बनाउनु आवश्यक छ, ता कि यसको फाइदा सबैले पाउन सकून् र प्रगति सबै क्षेत्र र समुदायसम्म फैलिइहालोस्,’ उनले भने। पिचाइले एआई मानव जीवनकै सबैभन्दा ठूलो ‘प्लेटफर्म’ भएको बताए। उनले एआई प्रविधि परिवर्तनकारी मोडमा पुगेको र यसले विभिन्न क्षेत्रहरूमा प्रगतिलाई तीव्र बनाउँदै लगेको बताए। त्यतिमात्र नभएर विकासशील अर्थतन्त्रहरूलाई पुराना संरचनागत सीमाहरू पार गर्न सहयोगसमेत पुर्याइरहेको उनको भनाइ छ।
‘मानव जातिले ठूलो सपना देख्दा के सम्भव छ भन्ने कुरा एआईले देखाएको छ। यो हाम्रो जीवनकालकै सबैभन्दा ठूलो प्लेटफर्म हो। हामी तीव्र प्रगति र नयाँ खोजहरूको संघारमा छौं, जसले उदीयमान अर्थतन्त्रहरूलाई छलाङ मार्न मद्दत गर्न सक्छ। तर, यो परिणाम स्वतः सुनिश्चित हुँदैन,’ उनले भने।
एआईप्रति आशावाद किन बन्ने प्रश्नमा पिचाइले यसको वैज्ञानिक अनुसन्धान र मानव जीवन सुधारमा रहेको औंल्याए। उनले ५० वर्षदेखि औषधि अनुसन्धानमा चुनौती बनेको प्रोटिन संरचना पूर्वानुमानबारे उदाहरण दिँदै डेमिस हस्साबिस र गुगल डीपमाइन्डको टोलीले उक्त समस्यालाई एआईमार्फत समाधान गर्न लागेको बताए।
त्यस्तै प्रयासबाट ‘अल्फाफोल्ड’ विकास भएको उनले बताए। उक्त उपलब्धिले दशकौंको अनुसन्धानलाई एक खुला डाटाबेसमा रूपान्तरण गरिएको उनको भनाइ छ। जुन अहिले विश्वभर उपलब्ध छ। ‘यो उपलब्धिले नोबेल पुरस्कारसमेत जित्यो। अहिले १९० भन्दा बढी देशका ३० लाखभन्दा बढी अनुसन्धानकर्ताहरूले यसलाई प्रयोग गर्दै मलेरिया खोप विकास, एन्टिबायोटिक प्रतिरोधसँग लड्ने लगायतका काम गरिरहेका छन्,’ उनले भने।
पिचाइका अनुसार एआई अहिले वैज्ञानिक पारिस्थितिका सबै तहमा प्रयोग भइरहेको छ। उनले एआईले नवप्रवर्तनलाई गति दिने, अवसर सिर्जना गर्ने र विश्वव्यापी चुनौतीहरूको समाधानमा योगदान पुर्याउने सम्भावना रहेको बताए।