: सरकारले चुनाव प्रचार–प्रसारका लागि हिँडेका उम्मेदवारले सवारी साधनको रुफ खोलेर हिँड्न रोक लगाएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै सवारी साधनको छत निकालेर प्रचार गर्न रोक लगाउने निर्णय गरेको हो। यसका साथै अघिल्ला निर्वाचनमा देखिएका छिटफुट कमीकमजोरीलाई ध्यान दिँदै आगामी निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पार्ने निर्णय भएको छ।
गृह मन्त्रालका प्रवक्ता आनन्द काफ्ले भन्छन्, रुफ खोलेर प्रचारमा हिँड्दा उम्मेदवार नै असुरक्षित हुने अवस्था देखियो। जसले जतावाट जे गरे पनि भयो, यसैले उहाहरूको व्यक्तिगत सुरक्षालाई ध्यान राख्दै सरकारले यो निर्णय गरेको हो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकाले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्।
गृहमन्त्रीले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। बैठकमा तीनवटै सुरक्षा अंगका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको बताएका थिए।
बैठकमा सहभागीहरूले तराईका केही जिल्लामा सञ्चार सामाग्रीको अपुग भएको जानकारी गराएका थियो। झापा, दोलखा, सर्लाही जिल्लामा थप सामग्री पठाउने बैठकको निर्णय छ। बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफलसमेत गरिएको छ।
जुम बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए। छलफलमा हरेक जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट जिल्लाको सुरक्षा विवरण प्रस्तुत गरेका थिए।
हरेक जिल्लामा थप सुरक्षाकर्मी पठाइए
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागी सरकारले देशभरीको सुरक्षा अवस्था चुस्त, दुरुस्त बनाएको छ। नियमित रूपमा खटाइएका सुरक्षाकर्मीलाई आवश्यक पर्ने थप सहयोग गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संगठनले थप सुरक्षाकर्मी जिल्ला पठाएको छ। बिहीबार मात्रै सशस्त्र प्रहरी बलका १६ सय विभिन्न पदको थप सुरक्षाकर्मीलाई जिल्ला पठाइएको छ। सशस्त्र प्रहरी बल मुख्यालयमा खटिएका जनशक्तिलाई संवेदनशील मतदान स्थल भएका जिल्लामा खटाउनका लागि बिहीबार पठाइएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार, प्रदेश नम्वर कोशी प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका लागि १६ सय सशस्त्रका जनशक्ति खटाइएको हो। उनीहरूलाई आवश्यकताअनुसार विभिन्न जिल्लामा पठाइनेछ। केन्द्रबाट खटिएर गएका उनीहरू संवेदनशील र अतिसंवेदनशील मतदानस्थल भएको ठाउँमा खटिनेछन्। निर्वाचन सुरक्षा योजना २०८२ मा उल्लेख गरिएका अतिसंवेदनशील र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार, नेपाल प्रहरीले पनि निर्वाचन सुरक्षा खटाउनका लागि थप १३ हजार प्रहरी जिल्ला पठाएको छ। यसअघि नै खटाइएका प्रहरीलाई मद्दत गर्नका लागि उनीहरूलाई व्याकफोर्सका लागि विभिन्न जिल्लामा परिचालन गरिनेछ। निर्वाचनको दिन अतिआवश्यक परेको अवस्थामा तत्कालै मुभ गर्न सकिने गरी प्रहरी जनशक्ति तयारी अवस्थामा राखिएको प्रहरी प्रवक्ताले जानकारी दिए।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९ सय ६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी परिचालन गर्न लागिएको हो। प्रहरी प्रधान कार्यालयले पहिलो चरणमा ४४ जना डीएसपी र ११० जना इन्सपेक्टरलाई परिचालन गरिसकेको छ। थप १ सय जना डीएसपी र चार सय इन्सपेक्टर परिचालन गर्ने प्रहरी प्रधानकार्यालयको योजना छ।
गृह मन्त्रालयका प्रबक्ता आनन्द काफ्लेका अनुसार, सुरक्षा संवेदनशीलताका हिसावले तराइका जिल्लाहरू अतिसंवेदनशील छन्। मधेस प्रदेशमा सबैभन्दा धेरै अति संवेदनशील मतदानस्थल छन्। नेपाली सेनाले पनि आवस्यक अवस्थामा तत्कालै परिचालन गर्न सक्ने गरी ७९ हजार ७ सय नेपाली सेना निर्वाचन सुरक्षाका लागि परिचालन गरेको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम वस्नेतका अनुसार हरेक प्रदेशमा रहेको नेपाली सेनाको पृतनाबाटै एक अर्कालाई आवश्यक फोर्स खटाउन सक्ने गरी नेपाली सेना तयारी अवस्थामा छ। बस्नेत भन्छन्, निर्वाचनको बेला शान्ति सुरक्षाका लागि जहाँ जतिबेला नेपाली सेना आवश्यक पर्छ ५ देखि ३० मिनेटभित्र खटिन सक्ने गरी तयारी अवस्थामा छ।